हेड लाइन र कविता / गण्डकीपुत्र
झर्रो शब्दजाल बुनेर चौबन्दिको गित लेख्दैमा
भिर ठुलेको भोको पेट र नाङ्गो आङ्ग देख्दैमा
मानवताको टाउकोमा शिखण्डी तरवार नचलाउने
संदेश बोल्दैमा
बाहिर सुकिला देखिएका कालाहरुको कपटी पोल खोल्दैमा
तिमि भेला भएर बाँचेको
कविताले छुनै सक्दैन
झुम्रे साहित्यकार तिमीसंग दरवार छैन
त्यसैले पनि कविगोष्ठी समाचारको हेड लाईन हुनै सक्दैन |
ब्रुनाइको जंगलमा हराएका
छोराहरु सम्झेर रोईरहेका आमाहरुको बिरह
आयातित संस्कृतिको पासोमा परेर
छटपटाई रहेका मादल र मुर्चुङ्गाको पीडा
यो बुद्धको देश यहाँको शान्तिलाई ढुङ्गा नहान
यो सगरमाथाको देश यहाँको
स्वाभिमान लाइ कमजोर नठान
यहि कुरा तिमीले गाउने गित भए
तिनको पीडाले यहाँको महल रुनै सक्दैन
के का लागि किच किच हो कविजी
कविगोष्ठी समाचारको हेड लाइन हुनै सक्दैन |
तिमीले नै भन्यौ कविजी
पोथी बास्नु हुदैन
नामर्द मर्द पाएका हामीले
मर्दको हाँसो हाँस्नु हुदैन
तिमीले नै यो हल्लइ हल्लाको देश भनेर ठोकुवा गर्यौ
तिमीले नै मध्यरात पछी सडकमा
मातेको मान्छेको भाषण सुन्यौ
तिमीले नै आमाको सपना देख्यौ
तिमीले नै देवासुर संग्राम लेख्यौ
तिमीले नै जाग न जाग भनेर सुतेका मान्छेलाई उठायौ
स्वतन्त्रताको गित भन वा मुक्ति युद्धको साइरन तिम्रै कलमले बजायो
हामीलाई थाह छ
कायरता व्यक्त गरेर तिम्रो कलम रुनै सक्दैन
के गर्छौ ब्युटी कन्टेस्ट वा रात्रिभोज भए अर्कै कुरा
कविगोष्ठी समाचारको हेड लाइन हुनै सक्दैन ।