भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

हो, म अरिबहादुर गुरुङ / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म अरिबहादुर गुरुङ
हजुर, संविधानको खेस्रामा छु नि म यौटा हस्ताक्षर
अ-देखि ङ-सम्म मेरो नामको अक्षरहरूले
जति ठाउँ ओगटेको छ नि
त्यति नै त हो मैले दाबी गरेको

ती अक्षरहरूमा म सधैँ अक्षर छु

अ भन या अल्फा
यो देशको वर्णमालामा म सधैँ छु
कहिलेदेखि थाह छ ?
जहिलेदेखि ओम् ध्वनि सुन्न थालिएको हो

हो, म अरिबहादुर गुरुङ
अ-बाट यात्रा हिँडेको आदिकालदेखि नै
देववाणीको देवनागिरी पढ्न आउँछ हैन ?
त्यहीँ हेर्नू म कहाँनेर छु
अनि कहिलेदेखि छु

'अरिबहादुर गुरुङ' त्यो मसौदामा सुरक्षित छ
तर किन अरिबहादुरहरू चैँ असुरक्षित हँ  ?
अब अरिबहादुरको होइन,
तर अरिबहादुरको अ-लाई सोध्नू –
कति प्राचीन हो ऊ यो देशमा
                                                       ( २७ जुलाई २००८)