भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार
Roman

अँगेनीको ओदान हो / दिनेश अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अँगेनीको ओदान हो विधवाको छाती
दिनभरि पोलिराख्छ, बल्न थाल्छ राति
नियतिको नाम दिँदै बाटो छेकीछेकी
हिँड्न खोज्छ मान्छे मेरो कलेजीमा टेकी

हाँसेकै छ सुनगाभा मैले छोए पनि
आँसु झर्छ आँखाबाट मैले रोए पनि
फेरि किन नबुझेको स्वाङ गर्छ मान्छे ?
नसोधेरै बनेको छ पराईको भान्छे
यो आँधीलाई कसो गरी राखुँला म बाँधी ?
मैले बोक्न हुँदैन रे साइतको ठेकी !

मैले लाए सिन्दूरको रङ उड्छ भने
पोतेलाई बिझाउँछ, चुरा फुट्छ भने
चाहिँदैन केही पनि सिङ्गारको साज
हैन भने किन राख्छौ यस्तो भेदभाव ?
फुल्न सक्छ मेरो कोख, पुग्न सक्छु माथि
भन्न छोड कुँजी छ यो— हातखुट्टा बाँधी