अँध्यारो खोज्दै / मनप्रसाद सुब्बा


हिपोक्रिट हेलोजिन, निअन र ट्युबलाइटहरूले
उपनिवेश बनाएर बेधडक राज गरेको यो सहर

अरे ! खै ती अबोध अँध्यारोका अनुहारहरू ?

साह्रै स्याडिस्ट चकाचौंध उज्यालो यो
आँखै तिर्मिराउने गरी
अचाक्ली सेतो दाँत देखाएर
हाँसिरहन्छ निच्च

प्रोपग्यान्डाको चहकिलो प्रकाश पोतिएकोछ
सडकमा भित्तामा आँखाका नानीहरूमा

मेरो आँखाको ज्योतिलाई अचेत पारी पछार्ने
यो अतिशय उज्यालोमा
म बाटो देख्नै नसकिरहेछु

हैन, यो कस्तो अत्याचारी उज्यालो हँ !
अँध्यारोलाई कमसेकम छायाँमा त बाँच्नदिनु नि !

फ्ल्यासब्याक :
म सानो छँदाको एक पाखा अँध्यारो
जहाँ राँके भूतको राँको
एकदेखि दुइ पाँच दस हुँदै झिलिलिली बलिरहेको
अनि अन्जान मनको गुफा रोमान्चित भइउठेको
यौटा चौरभरिको अँध्यारो जहाँ
हज्जारौं जुनकिरीहरूको ठूलो उत्सव भइरहेको
त्यो एक डाँडा-एक बेंसी अँध्यारोको क्लिओपेट्रा शरीरलाई
जुनेली हातहरू सुम्सुम्याउन आइरहेको
अँध्यारोको निग्रो अनुहार र घिच्रोभरि
म्वाइहरूले कविता लेखिरहेको ...
 
अरे ! खै त्यो अँध्यारो
जसको काखमा निर्धक्क बसेर
दीयोले आफ्नो अस्तित्व टड्कारो देखाउन सक्थ्यो
त्यो अँध्यारो जसको कोखबाट
गुलाफी बिहानी जन्मिने गर्थ्यो !

अचेल यहाँ त छ
खालि हिपोक्रिट उज्यालोहरुको घेराबन्दी
जसभित्र छु म क्लोन गरिएको
एक उत्तरआधुनिक मान्छे !

इस पृष्ठ को बेहतर बनाने में मदद करें!

Keep track of this page and all changes to it.