अँध्यारो जगतको सँघार / मार्गरेट स्येन / सुमन पोखरेल
दिनको उज्यालो निभ्दैजाओस्
र साँझ परोस्-
म तिम्रा सपनाहरूको अंश हुन चाहन्छु
जब समुद्र गर्जन्छ
र आवाज ठोक्किएर गुन्जिन्छ पहाड
हामी आपसमा टाँसिउँला
रातका बीचैबीच उड्दै
पुत्लीले हावामा तरङ्ग ल्याउँदा
हाम्रा सपनाहरू उद्वेलित हुन थाल्नेछन्
एउटा अँध्यारो जगतबाट
सँघार पार गर्नेछौँ चाँडोचाँडो हामी
अँगालामा बेरिएर प्रेममा लीन हुनका लागि
म फैलाउने छु मेरा सपनाहरूलाई
तिम्रा समक्ष, खोल्नेछु मेरो हृदय
तिम्रा मधुर उच्छवासका लागि
रातको तन्नामा
तिम्रो निर्धक्क शरीरले
केवल मेरो हेराइ पहिरिएको हुनेछ
एउटा नग्न समयमा
भावले घेरिएको शरीर
काव्यालङ्कृत क्षण
शब्दहरूको भार र
कविताहरूको हाम्रो मालामा
समाहित हुनेछ खुसि र दुःख
रातको अँगालामा
एकाकार भएका शरीरले प्रज्वलित गर्नेछन्
छुन सकिने गरी नाङ्गिएका हृदयहरूलाई ।