अक्षरहरू / रमेश क्षितिज
एकाबिहानै
चर्न पठाउँछु अक्षरहरूलाई
कहाँ आफू गोठालो – कहाँकहाँ चरनहरू !
आफ्नै धुनको सियाँलमुनि
म कुनै जिल्दाबिनाको किताबमा पढिरहेको हुन्छु
पुराना कथाहरू,
यहाँ,
केही नभए पनि केही भइरहेजस्तो
अचम्मको आभास हुन्छ
‘हैन, त्यस्तो केही हैन’ भनेर टार्न नसकिएको
उदासी पनि हुन्छ
अक्षरहरू
कतै भावनाको डिलमा उफ्रिहिँड्दा हुन्
बन्धनमुक्त भएपछि
कतै म नभएको बेला पारेर
चोरी पनि गर्दा हुन् संवेदनाको करेसोमा
उक्लेर कत्तिका मनका काल्नाहरूमा
मनलागी गर्दा हुन्
र कहिले तिम्रो अहंको बिस्कुन पनि
कुल्चेर छरपष्ट पारिदिँदा हुन्
अक्षरहरूले,
तिनीहरू नादान छन् माफ गरिदिनू
बेकसुर तिनीहरूलाई मान्छेजस्तो कदापि नसम्झिनू !
आफ्नो अर्को छुट्याउनै नसकेर तिनीहरू
निस्फिक्री–निष्पाप घुमिहिँड्छन् कता–कता
तर उग्राइरहन्छन् जीवनको रङ हरियो देखेर,
निर्दोष छन् अक्षरहरू
कतै शब्दका खुरले उक्ले अलिकति
आँगनको सिमाना भन्दैमा
यसरी निर्घात नकुट्नू
लाटो छोराको बाबुजस्तो भएर
मलाई तिनीहरूको अग्घोरै माया छ,
अर्मल बरु म चुकाउँला
निःसहाय अभियुक्तजस्ता तिनीलाई
सके सम्झाइदिनू–सम्हालिदिनू,
रगतपच्छे तिनीहरूका जिउभरि निलडाम देखेर
आज असाध्यै उदास भएको छु म ।