भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अक्षर, शब्द अनि संवेदना / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


१. अक्षरहरू
वर्णमालाको शृङ्खला तोडेर
स्वतन्त्र र अराजकतावादी भइराखेको बेला
तिमी र मैले
एक-अर्कालाई आविष्कार गरेको ठूलो समाचार
इलेक्ट्रोनिक र प्रिन्ट मिडियाबाट प्रसारित गर्नु छ
तर हृदय लेख्ने अक्षरहरू कहाँ कहाँ छ कुन्नि
खोज्दैछु ।

वर्णमालाबाट निस्केर वर्णहरु वर्ण फेरिरहन्छन्
अब हाम्रो कथा कुन वर्णले लेख्ने ?
अक्षरहरू क्षण क्षण क्षर भइराखेको बेला
हाम्रा भावहरूको कुनै भाउ नखोजौँ बजारमा
जहाँ विचारहरूको ट्राफिक जाम छ
कारभित्र काखमा ल्यापटप राखेर
उपभोक्तावाद नामको यौटा क्लोन मान्छे
अक्षर अनि अङ्कहरू विनिर्माण गर्दै
जीवनलाई लेटेस्ट अर्थमा हेर्न खोज्दैछ

साँच्चि, जीउदेखि जीवन कत्ति टाढा छ हँ ?
धत् ! यस्तो अर्थ न बर्थको कुरा के गरिरा’को !

२. अर्थहरूको एकएकवटा मुट्ठीबाट उम्किंदै
शब्दहरू एकपछि अर्को ठाउँ सर्दै गइरहेको बेला
तिमी र म
संवेदनालाई शब्दहरूमा अनुवाद गर्न खोजिराखेका छौँ
तर शब्दहरू किबोर्डदेखि मनिटर स्क्रिनमा पुगिन्जेल
विचारको दलाल अघि नै त्यहाँ पसिसकेको हुन्छ
विचरा संवेदना भने
निक्खुर शब्दहरू नपाएर
गाँठो परिबस्छ भित्रै
(अनुवादको अवतार धारण गर्नु कत्ति गाह्रो छ नि !)

ध्रुवतारा जस्तो शब्द खै कहाँ छ ?

शब्दहरू प्रायः
व्याख्याका प्रयोगशालाहरू चहार्दै
या त ब्युटी पार्लरतिर पस्दै
अनेक रूपरङ्गहरूमा देखापरिरहन्छन्

त्यसैले
आऊ अब
हाम्रा तरल अनुभूतिहरुलाई हामी
एकअर्काको आँखामै हेरौँ
अनगिन्ती मानिसहरुको सास बोकेर डुलिहिँड्ने हावामा
म तिम्रो सासको गन्ध अलग्गै थाह पाउँछु
तर यत्ति भन्नलाई पनि
मैले शब्दहरुकै हात समात्नुपर्यो
अनि हेर न
यति भनिसक्दा नसक्दै
मेरो हातै झट्कारेर शब्दहरू मदेखि टाढिंदै गइसके ..