अखण्डित समय र राष्ट्रिय एकता / शरद छेत्री
समय भनेको परिपक्वता पनि हो
असाध्यको प्रबल छ जो, –
राष्ट्रको सुदैढ सङ्घटनमा समयको
प्रभाव छ औधी प्रचण्डको ।
देशद्रोही ! तब के पो नाप्ने छौ तब उठाएर हतियार
हुने छैन है समय, कुनै पनि पो, आक्रमणमा स्थिर !
मातृभूमिप्रति प्रगाढ प्रेम चाणक्यमा, समयले तब जागृत गर्दा पनि,
वतनलाई स्वतन्त्र पार्ने दृढ लगनमा, गान्धी नेहरू पटेल प्रभृति कति,
हजारौँ लाखौँ सङ्ग्रामिजन-आन्दोलनमा, सर्वस्व त्यागी अग्रसर बन्दा पनि
समयको चाल थियो नित्य-निर्भय – अविचलित – अखण्डित,
जुन अनुशीलनमा स्वतन्त्रता सङ्ग्राम थियो एकाग्र प्रगतिशील,
उफ! एक्कास्सी तर, कताबाट पलायो यस्तो अमिल्दो-नमिठो?
बसुर राग, बिच्छिन्नतावादको, भँच्दै गति सत्-समयको ।
इतिहासको बिरुवा रोप्नेहरूले त, सुतेका अरूलाई पनि जगाएर,
परिसके समय अतिप्रजननशील, देश प्रेम रसले मलिलो सकारेर ।
अफशोच! तर मूर्ख अबुझहरू चाहिँ नचिनेर ऋद्धि-सिद्धि
समयको हातमा चाबुक देखेझैँ बन्दै हतभागी,
केवल विसङ्गत चालमा भाग्दै रहे सधैँ जथाभावी
खुसियालीको नाममा भ्रमको स्वार्थ- सामल बोकेल केही !
यसै पुण्यभूमिको आँगन-आँगनमा खुसियाली रमाइलो
मूल प्रवाह भयो, प्राण प्राणमा गुन्जित नित्य जोश-गानको,
प्रभो! यही नै त हो, उत्कृष्ट राष्ट्र भारत हाम्रो,
सङ्गठनमा नै जहाँ समय छ निरन्तर रमाएको!
जहाँ सुहाएको छ, अनेक भाषा अनेक भेष
अनेकौँ आस्था छ, अनेकको तर यही एक्कै देश
तब यस पवित्र स्थलमा, विभ्रान्त साथी!
कुन कुन चापमा बोक्यौ हतियारहरू यसरी?
कुन कुन भाइको, घातको ताकमा, भागेको मनपरि?