भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अखबार / रूपेश श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

पहिलो पृष्ठमा छापिएको छ
‘चिसोबाट कसैलाई मर्न नदिने’
प्रधानमन्त्रीको तत्तातो दमदार भाषण

दोस्रो पृष्ठमा तातेका छन्
भुँडेमान मन्त्री र नेतागणका
चिल्ला दावाहरू ।

तेस्रो पृष्ठमा ह्वाङ्गै छ
नयाँ नायिकाको ठुलो वाफिलो फोटो

चौथो पानाभरि छ
घर बनाउने सिमेन्ट
देश बनाउने छड
समयलाई उत्सव बनाउने रक्सी
र सम्बन्ध बढाउने कण्डमको विज्ञापन

पाँचौं पृष्ठमा
सत्तासँग तात्तिएको छ सम्पादक
सम्पादकसँग तात्तिएको छन् पाठक

बडेबडे बिद्वान् छैंटौं पृष्ठभरि
भए नभएका सबैसँग तात्तिएका छन्
लोकतन्त्रदेखि समृद्धि सबैसबै त्यहीं तातेको छ

सातौं पृष्ठमा थेगिनसक्नुको बजारभाउ तातेको छ
सातौंमै गरिबका निम्छरो अनुहार तातेको छ
दौरासुरुवाल लगाएको पुत्लामा लगाइएको आगो पनि छ

आठौंमा आन्दोलनको सानो फोटोभरि
बिछट्टै तात्तिएको छ बेरोजगार
विरोधमा कुदेको राँके जुलुस पनि छ

नवौं पृष्ठमा छ देशको नयाँ मानचित्र
त्यही पृष्ठमा कानुनदेखि तातेका छन् विचौलिया
ब्याजदर बढेर उद्यमीको पारो पनि त्यहीं तात्तिएको छ
दशौंमा छ चुनदेखि जहाज घोटालाको सूचि
त्यतै कतै छापिएको छ चिसोबाट जोगिने उपाय
खसीको तातो सुप पकाउने रेसिपी
र स्वास्थ्यमा सुधार आउने राशिफल

ऐजनऐजनले भरिएको रंगीन राष्ट्रिय अखबारले
आफूलाई न्यानो पार्न
ओढेको छ ज्याकेट एड

देशभरि तापक्रम स्वाट्टै घटेको बेला
खूब तातो छ आजको अखबार ।

साँच्चि,
यही अखबारको कुनै कुनामा छापिएको छ
एउटा सरकारी सूचना
जसले भन्छ,
‘जनताले चिसोबाट जोगिएर बस्नू’

त्यही सूचना पढेर सायद
यो मुटु जमाउने ठिहीमा
अरबार ओढेरै सुतेको छ
फुटपाथमा देश ।
०००