अगेनाछेउ गरेको बकसपत्र / रमेश क्षितिज
लैजानू – यी स्वप्निल आँखाहरू लैजानू
पग्लेर कहिल्यै नसकिने यिनीहरूलाई
गाडिदिनू कुनै फराकिलो सुख्खा चउरमा
वर्षौंपछि निर्माण हुनेछ
कुनै नुनिलो पानीको दह
र हेर्नू त्यसभित्र सल्बलाइरहेका झुप्राहरूको प्रतिविम्ब
गरिबहरूले मात्रै माया गर्नुपर्ने
यो देशसँग विरक्त भएर
म छु रहरहरूको सम्मोहनबाट पर
कतै अगेनाको डिलनेर
आगो भएर आफैं आगो तापिरहेको !
सधैं सपनाहरूको
गरुंगो भारी किन बोकाउँछ यो देश ?
माटोभन्दा बढी मलाई मान्छेसँग स्नेह छ,
लैजानू यो छाती र टुक्र्याउनू असंख्य टुक्राहरूमा,
सैनिकले कवाज खेलिरहेको मैदानजस्तो भइसकेको
यसलाई
सिलेट बनाएर बाँडिदिनू
बाबु मुग्लान झरेका असक्त नानीहरूका हातमा
र लेख्न सिकाउनू तिनको उज्यालो भविष्य,
यी हातहरू लैजानू र गाडिदिनू कुनै दोबाटोमा
यी कर्मशील छन् – झाङ्गिदै–झाङ्गिदै
कुनै दिन वृक्ष बनेर छहारी दिनेछन्
गोठालाहरूलाई
त्यसमुन्तिर बसेर हेर्नेछन् उनीहरू
चरनमा छोडेका वस्तुहरू र उनीहरूको छातीजस्तो
सडकमा चिप्लिरहेका चिल्ला कारहरू,
खुट्टाहरू लैजानू र पुल बनाउनू दुर्गम गाउँहरूमा
पत्रपत्र उप्काएर छाला लैजानू र पाल दिनू
सुकुम्बासीहरूलाई,
हाडहरू लैजानू र लट्ठी दिनू आरोहीलाई
निचोरेर सम्पूर्ण रगत पनि लैजानू र रङ दिनू
मजदुरहरूलाई
अनि रंगाउनू यो देशको झन्डा,
यो मुटु पनि लैजानू र सहँदासहँदा ढुंगा भइसकेको
यसलाई हथौडा बनाउँछ कुनै श्रमिकले !
वर्षौं पछि सबैले बिर्सिनेछन् मलाई
कुनै दिन थिएँ म पनि
हाँस्थेँ, खेल्थेँ र माया गर्थें जिन्दगीलाई
मेरै हातमा वृक्षमुन्तिर तोक्मा अड्याएर
बिसाइरहेका भरियाहरूलाई समेत थाह हुनेछैन
कुनै बेला म पनि मान्छे थिएँ उनीहरूजस्तै
सम्पूर्ण षड्यन्त्रबाट अनभिज्ञ उनीहरू
कुनै लोकगीत गुन्गुनाउँदै हिँड्नेछन् आफ्नो बाटो,
कुनै ढुंगाको देउता बन्नु छैन मलाई
र छैन कुनै स्वर्णिम नाम लेखाउने मोह पनि
निर्धनहरूको अपदस्थ इतिहास
उसका सन्तानहरूले सम्झिने कथामात्रै हुन्,
मन्जुर छ, मलाई सबै मन्जुर छ !
तर एउटा सर्त स्विकार्नुपर्छ तिमीले पनि
“बाँच्न जन्मिन्छन् रमेश क्षितिजहरू”