भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अतिथि र हतार / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

थाहा छ तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ
तर नबिर्स!
यो धर्तीमा हिँड्न
हामीले बनाएका हौं- बाटो!
थाहा छ ब्रह्माण्डलाई-
हतारमा छ पृथ्वी
प्रार्थनारत छन् नानीहरू
भागिरहेको बेलुनबाहिर
कमिला हतारमा छ
अम्बा, निबुवा र सुन्तला वरिपरि
हतारमा छ झुसिलकीरा
संयोगले हामी जन्मियौं यस माटोमा
सँगै उभियौं युद्धका असंख्य मोर्चाहरूमा
प्रत्येक युद्धमा हामीलाई बँचाउने
यी हिमाल, पहाड, जङ्गल, नदी र मैदानहरू
अहिले भेट्न चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
प्रत्येक क्षण हामीलाई स्याहार्ने
यी सहर, सडक, चोक, र गल्लीहरू अहिले
छुन चाहन्छन् तिमीलाई
तर तिमी हतारमा छौ
ए अतिथि!
ए यो समयका अन्तिम व्यस्त वैज्ञानिक!
हेर! तिम्रो पृथ्वी
माइक्रोस्कोपभित्र हल्लिरहेको एउटा बिन्दु
चलिरहेको अमिबा वा अक्टोपसको एउटा कोश
त्यो हो तिम्रो देश-
त्यहाँ तिमी हतारमा छौ ।
यस्तो हतारबीच
फूल दियौं तिमीलाई
नसम्झ! देवता मान्यौं हामीले
अबिर लगाइदियौं तिमीलाई
नसम्झ! बिजेता ठान्यौं हामीले
हात जोड्यौं-
नसम्झ! शासक सम्झ्यौं
शिर झुकायौं-
नसम्झ! सपना सुम्पियौं
ए अतिथि! ए अतिथि!!
सतीदेवीको मृत शरीर होइन हाम्रो सपना
र, होइनौ तिमी दुर्लभ महादेव
मात्रै स्वागत गर्नु छ तिमीलाई
किनकि-
तिमी हतारमा छौ-
तिमीलाई धेरै टाढा पुग्नु छ ।
तिमी गइसकेपछि...
तिम्रो तस्बिर सुम्सुम्याएर भावुक हुने छैनौं हामी
तिम्रो श्रव्य-दृष्य वा वृत्तचित्र हेरेर उत्तेजित हुने छैनौं हामी
तिम्रा आविष्कारहरू/तिम्रा महावाणिहरू
ऋचा, मन्त्र वा मुन्धुम केही हुने छैनन् हाम्रा लागि
कुनै सम्झिनुपर्ने दिन हुनेछैन तिम्रो मृत्यु
सती जाने छैन कुनै उज्यालो झन्डा तिम्रो चितामाथि
तर हामी-
फेरि भेला हुनेछौं यहीँ/यही समारोहमा
र गर्नेछौं गम्भीर बहस-
'के तिमी साँच्चै हतारमा थियौ...?
कि बिदा गर्न तिमीलाई
हामी हतारमा थियौं??'