अनाम युद्ध / श्रवण मुकारुङ
मान्छेसित रिसाएका चराहरू
क्रुद्ध सैनिकझैँ
गीतको बन्दुक बोकेर हिँडे– चितुवाजस्तो पहाड खोज्दै ।
आकाशभरि हाहाकार...
ताराहरूको भागाभाग...
बतासको बिचल्ली...
लुगलुग काँप्दै शीतको झ्याल आधा खोलेर
कुहिरोको झुप्रोबाट फूलहरूले चियाए
चराहरू मनपरी बन्दुक चलाइरहेका थिए–
सा रे ग म प ध नि सा
सा नि ध प म ग रे सा
देवता बन्ने सपना देखिरहेको युवक ढुङ्गाको छातीमा गोली
लाग्यो
भाङ्ग्राको टोपीमा यौवन बुनिरहेकी युवती खोलाको हातै भाँचियोभ
तपस्यामा लीन आर्य रुखको आँखा फुट्यो
क्रीडामग्न मङ्गोल दहको कोखाबाट काँचो रगत भलभलियो
पहाडलाई केही थाहा भएन
चराहरू झनै आक्रोशिए–
सा ग प नि रे म ध सा
सा ध म रे नि प ग सा
गोलीले– अथाह भविष्य बोकेको बालक आगोमाथि बूढो पानी
खस्यो
गोलीले– अनन्त रहर साँचेकी बालिका पातमाथि बूढी पात खसी
फेरि पनि पहाडलाई केही भएन
सैनिक चराहरू थाके !
चितुवाजस्तो पहाड उठ्यो र मुस्कुरायो–
ओम मणि पद्मे हुँ !