भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अनुभूतिका फूल / सुदीप पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अनुभूतिका फूलहरु
पानाका ड्याङ्हरुमा पंक्तिबद्ध
क्रमसंगै फक्रिए ।

जूनले पोलेका शब्दहरु
फूलले घोचेका अक्षरहरु
छहारीले डढाएका हरफहरु
घामले अँध्यारिएका यथार्थहरु
सलल.....सलल....... सल्बलाइरह्यो
कविताहरुको नदीमा ।

सपनाहरुको कोढ लागेर
झर्नै लागेका आँखाहरु लिएर
— दुखेको वर्तमानमा —
उदासिलो रंगका स्वरहरु
गुन्जिरहे — पाखाभरि/पानाभरि

फ्यात्तै..... फ्याक्न पनि नसकिने
च्याप्पै....... समाउनै पनि नसकिने
— रोगी रहरहरु —
ब्यर्थै लिएर हिड्दैछौं
— टनक टनक दुखेका धूनहरु —
नाहक नै गुन्गुनाउँदैछौं ।

अनुभूतिका फूलहरु
पानाका ड्याङ्हरुमा पंक्तिबद्ध
क्रमसंगै फक्रिए/क्रमसंगै ओइलाए पनि