अनुहार हराएपछि / अन्जीर प्रधान
अब हामी एकअर्कालाई केही भन्दैनौँ
भन्नुको अर्थ पनि छैन ।
सुन्नुको अर्थ पनि छैन ।।
हामीबीच शब्द तरल भएर बगिरहेछ 
बाफ भएर सढिरहेछ आवाज 
काँडे तार र जाली उम्रिरहेछन् 
घाँटीभरि हाम्रो
हामी एक्लै–एक्लै भोगिरहेछौँ 
करोडौँ दुःस्वप्नका कथाहरू
असङ्ख्य विभाजित मनस्थितिहरूमा भएको 
रातो रङ्गसँग
विचलित/आक्रान्त 
म अथवा हामी
आफ्नो सडकभरि पनि फैलन सकेका छैनौँ 
कहीँ पनि भएन निर्वाह/अवस्थाहरूको संरक्षण 
तिमी र म, हामी कसरी भनूँ
खोइ अनुहार ?
बरफजस्तो गिलासमा
दृष्टि पनि पग्लिन थालेपछि जब 
हरेक निमेष मर्दै गइरहेको 
अनुभूतिको लासमाथि
कहाँ छ नाम तिम्रो, मेरो । 
तिमीलाई मैले रूख, वरपीपल भने भयो 
तिमीले मलाई मेच, टेबिल, पङ्खा भने भयो।
अब हामी एकअर्कालाई केही भन्दैनौँ 
भन्नुको अर्थ पनि छैन ।
सुन्नुको अर्थ पनि छैन ।।
	
	