अनुहार / विमला तुम्खेवा
निर्वासित राजकुमारको
दुःखद् कथा हो
यो देश —
यहाँका चराहरु दुःखको गीत गाइरहेछन् ।
खिया परिसकेको राष्ट्रियता
टाँसेर छातीमा
बिरामी स्वास्नीलाई छोडेर
काम गर्न गएको लोग्ने
उदास–उदास
साँझ त्यसै फर्कन्छ
घाम अस्ताउनै लागेको पहेंलो छायाँ
रियादको मरूभूमिमा मरेको
एउटा — आमाको कथा
प्राचीन धारा र मन्दिरजस्तै इतिहास हुन सक्छ
प्रत्येक मौन अनुहारहरु ।
रातो सयपत्री औलाउनुसँगै
छिमेकमै एउटा गरिब केटो
औषधि नपाएर मरेको रात
हुनुहुन्न पत्थरको देवता मान्छेको बस्तीमा ।
प्राथनीय नहुनसक्छ
आदिम मन्दिरहरु उसको आँखामा
ओ ! जून बोकेको मान्छे,
आगो लिएर कता हिँडेको ?
प्रसिद्ध नहुन सक्छ
तर यति धेरै मृत्युको लाम लागेको
यो सहरमा —
म, तिम्रै अभिमान अघिल्तिर उभिएर
एकसाथ सोचिरहेछु
किशोरी उर्मिलाको आँखामा
अचेल कस्तरी गाउँ बाँचिरहेछ ।