अनौठो जोगी / विष्णु न्यौपाने
साँझ नझर्दै रात नपर्दै
यौटा जोगी आइरहेछ ।
दयालु पनका चञ्चल मनका
मन्त्र अनौठा गाइरहेछ ।।
छाँट अनौठो बात अनौठो
कपटी मनको चाल अनौठो ।
हेर्दछ फर्की चौसुर घरका
के हो उदेश्य आँट अनौठो ।।
लट्टा दारी वरपर पारी
एक्लै बोल्दछ गुन्गुन भाका ।
बस्तै उठ्तै छटपट गर्दा
घुम्थे फिर्फिर उसका आँखा ।।
क्यै दिन सहजै व्यतीत नहुँदै
पीडादायक रात सुसायो ।
हतियारैका धार मुसार्दै
मध्यरातमा जोगी उदायो ।।
थ्येनन् झोली ऊ सङ्ग आज
साथी सयौं र बोरा साथ ।
तोडेर धर्म मानवताको
दियो यातना असहृयताको ।।
श्रद्धा भक्ति र अनौठो शक्ति
जोगी शब्दमा नास गराइ ।
कलङ्क मात्रै फैलन लाग्यो
नाटक नौलो पर्दा हटाइ ।।
बाँधी मेरा हात र खुट्टा
चाल्यो घरका चोटा कोठा ।
यस्तै रीतिले रात भरमा
गरे डकैती सैयौं घरमा ।।
ध्यान अनौठो ज्ञान अनौठो
नवीन युगको दान अनौठो ।
खोज्दो रहेछ कि जोगी मनले ?
नीच धर्मको कर्म अनौठो ।।