भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
अन्त्यमा / लक्ष्मीप्रसाद देवकोटा
Kavita Kosh से
पिल्पिल तारा, पिल्पिल तारा उस घरको त्यो मेरो दीप ।
जीवनको त्यो अस्ताचलमा नरहोस् कालो मेघ समीप ।।
शान्त रहोस्, शान्त रहोस् दिनको अन्त्य उज्यालो आकाश ।
नचलोस् नचलोस् झोंका यौटा प्रबल संवेग अशान्त बतास ।।
साँझको त्यो अन्तिम घण्टा मन्द बजाअोस् एक पुकार ।
दिनको पलक निमीलन कोमल अनि अँध्यारो संसार ।।
सुन्दर दिव्य यो रङ्गभूमि एक आखिरी दर्शन ।
एक पछिल्लो दृश्य उज्यालो अनि जुटेका पलक नयन ।।
अनन्तताको नभमा फेरि फुका चराको शान्त उडान ।
आँगन छोडी, काननबिचमा गुँडमा फेरि अन्तरध्यान ।।
यौटा बोली, यौटा गाना, अचेत यौटा सुखको तान ।
सम्झनामा गुँजिरहोस् त्यो हृदय कुनैको उद्यान ।।