अप्सरा / माधवप्रसाद घिमिरे
 आकाश-मार्ग सकिन्न कहिल्यै लाग्दछ कहाली, 
म हिंड्न पाऊँ बिसाइ माद उकाली-ओराली । 
टल्टल आँखा चञ्चल बनून्, परेला झिम्झिम, 
नानीले पाऊन् दिनका लाया छविका रिम्झिम । 
के रमाइलो वसन्तमाथि वसन्त बहार ! 
म हेर्न पाऊँ हिउँद, वर्षा, गुल्जार, उजाड। 
ज्योतिका प्वाँख समेटी पसूँ अंधेरी रातमा, 
कुर्कुरे नींद खोलेर ब्यूँझूँ मिमिरे प्रातमा । 
यो मनचिन्ते अमृतपान लाग्दछ अमन, 
म पाऊँ मीठो प्यासमा पानी, भोकमा भोजन । 
गर्दिनँ भुली मदमा झुली सुखको बिहार, 
म गरूँ चीसा परेला पुछी दुःखीको सुसार। 
देवता देख्छन् मलाई खालि रूपसी नर्तकी, 
मानिस देख्छ दिलकी देवी लच्छिन घरकी। 
मलाई पुग्यो द्यौताको काखको अनन्त मिलन, 
म परदेशी प्यारालाइ पाऊँ घरमा सम्झन । 
चाहिन्न बाँझी बनाउने नित्य यौवन मलाई. 
म बुढी बन्छु सन्तानलाई हृदय चुसाई। 
कसको पनि गर्दिनँ अब तपस्या-बिगार, 
जुटाइदिन्छु टुटेका दिल, फुटेका घरबार । 
स्वर्गमा सधैं छ एकनास सुखको विलास, 
मर्त्यमा नौलो चाहना साना दुःखका मिठास । 
स्वर्गमा सधैं छ ढलीमली फूलको सेजमा, 
पृथ्वीमा टेक्छन् काँडामा अग्ला डाँडाको खोजमा 
देवता लिन्छन् महिमा मोली अर्काको अर्चना, 
मानिस गर्छ आफैंलाइ मेटी सेवाको भावना । 
ए कति बाँचिरहनु ! लाग्छ चिच्याट मलाई,
म हाँसी-हाँसी मर्त्यमा मरूँ गुणले रुवाई।" 
अप्सरा बोलिन ज्योतिको प्वाँख खोलेर चनचल 
स्वर्गको रहर सिद्धियो झरिन् हरर भूतल । 
............................
शारदा, १२।९,पौष २००३ 
 
	
	

