Last modified on 7 जून 2020, at 22:11

अब खुकुरी दापभित्र पनि चल्न थालेको छ / सुमन पोखरेल

यो कहाँ हुन्छ ?
यो कसरी हुन्छ ?
जेजे हुन्छ
जताजता हुन्छ
यताउता हुन्छ ।

विभीषण र युयुत्सुको मात्र कुरा हैन
यो
किम फिल्बि र डोनाल्ड म्याक्लिनको
पनि कुरा हो ।

केवल मिथकले हुँदैन
केही इतिहास र खुकुरी पनि चाहिन्छ
नत्र सधैँसधैँ यहाँ
कथाका दृष्टान्तहरूले
परास्त गर्ने गरेको छ मान्छेलाई।

फेरि पनि
बेला आएको छ
खुँडा र खुकुरीको ।

कलमले संविधान लेख्दैन
आजसम्म कुनै संविधान लेखेन कलमले
सधैँसधैँ
असन्तोष र उन्मुक्तिको अभिलाषाले
गर्दै आएको छ क्रान्ति
म्याग्नाकार्टादेखि महानिर्वाचनसम्म ।

अब खुकुरी दापभित्रै पनि
चल्न थालेको छ ।