अब घामको सुत्ने पालो / सुमन पोखरेल
उकालोमा हिँडनेहरू
कोही पसिना मात्र चुहाउँछन्
कोही योजना बनाउँछन्
कोही गीत गुन्गुनाउँछन्।
त्यसैले दोष
केवल उकालोको मात्र होइन ।
समतल नहुनुको दोष
भिरालोको हो भने
पाखा नहुनुको दोष
मैदानको पनि छ।
कसैले भनिदेला
यो एक्लो यौवनको अधूरो अनुभूति हो
तर
प्रमाण मसँगै छ
कि
यौवन सँग-सँगै म जीवन पनि बाँचिरहेछु
अनुभूति सँगसँगै अनुभव पनि चपाइरहेछु ।
एउटा कुटनीतिकले
भन्ने छ मलाई-
यो कुरा कसैलाई नभन्नू ।
र मलाई
मान्छेको परिचयको यो दौडमा
मान्छे खोज्ने र
मान्छे चिन्ने यो परीक्षामा
लागिरहेछ कताकता
कि
उसले आफैँ भनिदिनेछ यो कुरा
टुँडिखेलमा,
जसरी
एउटा सहृदयीले
मनभरि काँडा ओछयाएर
मलाई बस्न दिनेछ
आफ्नो मनमाथि ।
पिएको रक्सीले मताएन भने
नपिएको पानीले
होश हराइदिन
के बेर ?
यो घामले पनि
आजसम्म
हिमाल मात्र पग्ल्याएको छ,
भीर र उकालोहरू
पहाड र जङ्गलहरू त
हामीले नतातेसम्म
आफ्नै रूपमा जमिरहने छन् ।
साँझैभरि
कलमको टुप्पो सँगै-सँगै मातिरहदाँ
हिँडाइ लरखरिए जस्तो
कहिले एथेन्स कहिले शिकागो
कहिले सद्धाम कहिले ब्लेयर
कहिले हिमाल कहिले सागर ।
जाडो भयो
अब उठनु पर्छ,
सुत्ने पालो अब घामको ।