भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अब मान्छे मर्नै पर्छ कि कसो! / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

यी कुर्सीहरू मेरो कोठाका
एकाएक बोल्न खोजेझैं
यो मध्यरातमा,
जसरी
ज्यूँदा हुँदा यी दराज र टेबुलहरू सल्लाका
सुसाउने गर्दथे
झुन्ड बनाएर जंगलभरि ।


यो मध्यरातमा
यो खाली कोठामा
मभित्रको शून्यताले
टेबुल र कुर्सीहरू
र दराज र र्‌याकहरू
र भित्ता र तस्वीरहरू
र भूँई र बत्तीहरू
सबै सबैलाई
प्रभावित गरे झैं,
र चुप लागे झैं तिनीहरू ।

मेरो नियास्रोले तिनीहरूलाई असर पार्नु कदाचित राम्रो हैन ।

मैले उन्मुक्ति दिएँ कुर्सी र टेबुलहरूलाई
बोल्नको लागि,

केही व्यक्ति, केही पात्र राखिदिएँ तिनीहरूमा ।

कुर्सी नं. १ पात्र घ
कुर्सी नं. २ पात्र ग
कुर्सी नं. ३ पात्र क
कुर्सी नं. ४ पात्र च
कुर्सी नं. ५ पात्र ख
कुर्सी नं. ६ पात्र ङ ।

एउटा कुर्सी खाली रह्यो ।

त्यो खाली नै होस्
मैले बस्नु पर्ने हुन सक्छ
केहीबेरपछि ।

तिनीहरूलाई आफ्नै सुरमा बोल्न छोडेको हुँ
तिनीहरूलाई आफ्नै कुरा भन्न छोडेको हुँ
तर
सबै मेरो मुखमा हेरिरहेछन् टुलुटुलु ।

मैले के बोल्न लगाउने तिनीहरूलाई ?

यो अचम्म पनि हो, एक प्रकारको ।

आजसम्म कुनै कुर्सीका कुनै पात्रले
मैले भनेको सुनेका थिएनन् ।
आज
सबै पात्र मेरो अनुहारतिर आँखा र कान
ओछ्याएर बसेका छन्;
निर्वाचन नजिक आएजस्तो
कुनै संकट परेजस्तो ।

ती निरीह अनुहारहरू पात्रहरूका;
त्यसबाट के बोली निस्कन सक्ला र
मैले बोलाउने ?

यो मध्यरातमा
यो चकमन्न अँध्यारो मध्यरातमा
यो बत्ती बलेर पनि प्रकाश छोपिएको रातमा
म सोच्दैछु
यसबेला म निदाएको हुनु पर्दथ्यो
र एउटा सपना देख्नु पर्दथ्यो ।

त्यसो हुँदा
पात्रलाई मैले बोलाउनु पर्दैनथ्यो
ऊ आफै बोल्नेथ्यो
अनुहार बदली-बदली
बेहोरा फेरिफरि ।

तर
यो त सपना होइन,
प्रत्यक्ष यथार्थ हो;
जहाँ पात्रलाई मैले बोल्न लगाउनु पर्नेछ
र पात्र मेरो निर्देशनलाई
नमानेर आफैं बोल्न थाल्नेछ ।

बोल्दाबोल्दै
मेरो अस्तित्व मेटाउने कुरा गर्न थाल्ने छ
मेरो कोठामा कोलाहल मच्चिने छ

सिम्टाबाट निस्किएका दिउलहरू फुट्ने छन् ।

तिनको मायामा
सल्लाका जंगलहरू सुसाउने छन्;
दिउलहरू उम्रन पाएनन्
बाँदर र तिनका छाउराहरू
र तिनका बुलाहाहरूले
खाएर सिध्याए भनेर।

त्यतिखेर
मेरो कोठाका कुर्सीहरू भत्किसकेका हुने छन्
र नयाँ कुर्सी बनाउने सल्लाहरू ढालिने छन् ।

पछि ढालिएका ती सल्लाबाट बनेका कुर्सी भत्काउँदा
अरु कुर्सी बनाउने सल्लाहरू
उम्रनै पाएका हुँदैनन् ।

मेरो कोठामा
पात्रहरूलाई मैले
सुकुलमा बसाउनु पर्नेछ ।
सुकुल बनाउने
पराल, छुवाली र नरुवाहरू नखाई
बाँच्न सकिरह्यो भने मान्छे ।