भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अलिकति उज्यालाको गति हिँडिदिन्छु / महेश प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अलिकति उज्यालाकोगति हिँडिदिन्छु।

कुनै शान्त–प्रशान्त धुनसित
अलिकति अँध्याराको पाइला चपाएर
कोलाहलमा पनि उज्यालाको गति हिँडिदिन्छु
अलिकति स्पर्श उज्यालाको, अलिकति कलशको
अलिकति टहक जूनको, अलिकति मधुमासको
कतिपय रातले पोखेको चुकलाई नङ्ग्याएर
मुर्दामा पनि धड्कनको गति हिँडिदिन्छु
कहिले मुस्कान— चुपचापलाई चलाएर बाँचिदिन्छु
कहिले रोदन— अनङ्गलाई हराएर हिँडिदिन्छु
जस्तो अभिव्यक्ति
म बाँचेको पीडासित साटिदिन्छु
यति त लहर हो धरतीको
एकरती जीवन बाँचेको बेसै भनिदिन्छु ।

अलिकति अँध्याराको गर्तमा उभिँदै
फुटेको मन बोकेर अझ केही बेर
नबोलेर पनि बोलेको जस्तो भइदिन्छु
ख्वै, कसरी नलेखूँ पीडा एक मुठी रक्तचापको ?
ख्वै, कसरी नहेरूँ निद्रा अलिकति आत्मघातको ?
कहिले त द्रोहका ससाना पङ्क्तिहरू चलाएर
जीर्णता हुनुको अवयवसित चहर्याउँदै, चटपटाउँदै
जसै मौनता पनि नलागेको मात्र बेसरी मातिदिन्छु
जस्तो सुनसानलाई सहर्याएर
विवश दिनहरू काढेको आधारशिला खोस्रँदै र फोर्दै
निर्वासित बाँच्नुको निःस्तब्ध देवताहरूलाई
पटक–पटक प्रकट गर्दै र जिउँताउँदै
ससाना मनका कोमल पाउहरू हिँडेर
अलिकति उज्यालोजति हिँडिदिन्छु।
 
यो सत्य हो अँध्यारा–अँध्यारा ओढारहरूमा
कुनै समय साँघुरो आकाश पनि चर्कनेछ
यो निर्विवाद हो आगतका पहारिला यात्रा, यात्राहरूमा
कुनै समय बूढो सूर्य पनि धपक्क बल्न सक्छ
किनभने असङ्ख्य, असङ्ख्यहरूका ह्दयमा
आगो हुनुको जलन छँदै छैन— त्यसै नभन
अब तिनको सामथ्र्य समूह–समूह बनेर आएको छ
अब तिनको चेतन सहस्र–सहस्र भएर उठेको छ
जस्तो कति–कति रातहरूलाई लट्ठ्याएर मेरो सामु
प्रत्येक नेपालीको देउतालाई शोषण गरिएको थियो
जस्तो तिनका रगत–पसिनाका अवमूल्यनहरू चढाएर
कठै। आह्रलादको मुठीभर पुरोधा बनाइएको थियो कुनै घडी ।
एकान्तमा नबोलेको कुरा अब बोलिदिन्छु
जस्तो उज्याला, उज्यालाको स्पर्श सर्वत्र हिँडिदिन्छु।