भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अवतरित उत्कर्ष / शारदा शर्मा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एकक्षणका लागि
जाज्वल्यमान् भयो समय
लाग्यो
बाँकी रहेन कतै अपूर्णता
अभाव बाँकी रहेन
सपना देख्न आकाश बाँकी रहेन
यसभन्दा माथि
पाइला राख्न उचाइ बाँकी रहेन
उत्कर्षको यो स्वर्णबिन्दु
कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त,
स्वर्ग हुनुपर्ने थियो
किन हो
विषादमय भयो ।
 
तीव्र उष्णताको पराकाष्ठा
तीव्र शीतको कठोर ठिही
मान्छेका कल्पनाको उत्कर्ष
सधैँ विकट र नभेटिसक्नु
कुन्नि कस्तो हुँदो हो
शिखरको स्थायित्व अनुभूति
निसास्सिएर मर्दो हो उत्तेजित मान्छे,
गतिहीनताले कुँजो हुँदो हो
विजयपताका गाड्न बाँकी कतै भूमि नभेटेपछि
उत्साह बल्दो हो दनदनी
शोकले
अकर्मण्य मूर्ति हुँदो हो मान्छे
शिखरप्राप्तिको रोमान्सकारी सुख–सम्मोहन
अवरोध आरम्भ नहुँदासम्म त,
चरम आनन्दमय हुनुपर्ने थियो
किन हो,
बोझिलो भयो।

उचाइदेखि हेर्दा
तल्तिर
स–साना पुड्का सह–शिखरहरू
कहालीलाग्दो दूरीमा
पाताल भास्सिएको भूमि
अन्ततः ओर्लनै पर्छ
जति अकासियो
उति नै कष्टप्रद हुन्छ अवतरण
सन्तुलन डगमगाए
अस्तित्व चूर्ण–चूर्ण हुन्छ ।

सदा–सर्वदाका लागि
कसैलाई कवै उपलब्ध छैन उत्कर्ष
अँगालाभरि नअटाएका नाजुक कल्पपुष्प
अन्तरमा जुर्मुराएका खुसीका अथाह ज्वारभाटा
कति नै जतन गरे पनि
अन्ततः
 सिमलका भुवाझैँ छरिएर उड्नेछन् चारैतर्फ
पानीका फोकाझैँ फुट्नेछन्
यावत् विजययात्राहरूको अन्तिम निष्कर्ष
आफ्नै उचाइ र आकारमा
आफ्नै धरातलमा
सम्पूर्णतः एक्लैर रित्तै
पराजित भएर
आइपुग्नै पर्छ
अपरिहार्य छ पीडा निःसन्देह
खुसी त खुसीजस्तो हुनुपथ्र्यो
किन हो
निःसारताको छायामा
मान्छेको सुख सधैँ बिटुलो भयो।

त्रासदीको महासमुद्रजस्तो जीवनमा
क्षण–क्षणको उमङ्ग
अमर हुनुपर्ने थियो
पाइला उचालेपिच्छै
विजय–उत्सवको आयोजना हुनुपथ्र्यो
अजर हुनुपर्ने थियो यी स–साना प्राप्तिको सुख
चिरन्तन हुनुपर्ने थियो
किन हो,
सौदामिनीसदृश
खपिनसक्नु प्रचण्ड उज्यालो भयो क्षणभर
र तत्काल समाप्त भयो।