अवतार - ६ / अमोददेव भट्टराई
नाकको टुप्पोमा
रातो डल्लो 'बल' राखेर
अनुहारमा रंग-विरंग पोतेर
अनेक हाउभाउ गर्दै
रंगमञ्चबिनाकै 'जोकर' भएर
मध्यसडकमा उभिएर
तिमीलाई नमस्कार गर्छ ऊ
तिमीलाई धन्यवाद भन्छ ऊ ।
रंगमञ्चमा 'जोकर' हुनुको अर्थमा
केही अस्तित्व हुने थियो सायद उसको
तर, ऊ त सिर्फ फाल्तू 'जोकर' हो आज
रंगमञ्चको त कुरै छोडौँ,
तासमा समेत मिलाउन नसक्ने 'फाल्तू जोकर' ।
आफ्नै अवतार परिवर्तनले
क्षत/विक्षत ऊ
सायद तासका पत्तीभित्रैका
बादशाह वा गुलाम मात्रै भए पनि
हुन खोजेथ्यो उसले
आह ! तर उटुंग्याहा, अनौठो अवतारलाई
तिमीले समयमै चिनिसकेका थियौ ।
त्यसैले, जिस्किरह्यौ/जिस्काइरह्यौ
उसले बुझेन, तिमीले बुझाउने कोसिस गरेनौ ।
ठीक हो ! अनौठो अवतारको सामीप्य
घातक हुनसक्थ्यो, त्यसैले ठीक गर्यौ
जोसँग आफूलाई चैन छ, ढुक्क छ
उसैसँग संगत गर्यौ/छलफल गर्यौ/ठाउँठाउँ धायौ
सिर्फ फाल्तू जोकरलाई समय भएन, प्राकृतिक सत्य ।
झ्यालबाट हेर त
ऊ तिमीलाई नमस्कार गरिरहेछ,
धन्यवाद भनिरहेछ,
चिच्याई चिच्याई
तिम्रो मित्रताका लागि
उसको औकात बुझ्ने अवसरका लागि ।
तर,
कृपया, आश्चर्य नमान
तिमीले हेर्दाहेर्दै
ऊ एकाएक उटपटाङ आकृतिबाट
नृसिंह हुन सक्नेछ
'हुन्छ' होइन, हुन सक्नेछ
किनभने, ऊ अवतार परिवर्तनको सिलसिलामा छ ।