भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

अशिवलिङ्ग / मनप्रसाद सुब्बा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


अचेल के भा’को हँ
यो देशको लोग्नेमान्छेलाई ?

जीउभरि लिङ्गै लिङ्ग उन्मत्त उमारेर
त्यसले अन्धाधुन्ध धावा बोलिरहेछ स्वास्नीमान्छेमाथि ।
स्वास्नीमान्छेहरूलाई खत्तम पार्न
त्यसले
आफ्नो जीउभरि लिङ्गहरू जुरुरुरु काँढा उमारेको छ
त्यसको शरीरको रुगरुगे पाखामा
लिङ्गको खेती घिनलाग्दो सप्रेको छ
उम्रेको छ लिङ्गहरू त्यसको निधारमा आँखामा नाकमा ओँठमा
चिउँडोमा छातीमा हत्केलामा अनि हत्केलापछिल्तिर
लिङ्गै लिङ्गको मान्छे भएको छ त्यो
तर त्यसलाई शिवलिङ्गको शिवत्वबारे क्यै थाह छैन
उन्मत्त भैरव-लिङ्गको उर्वर मिथक पनि त्यसले सुनेको छैन
सुनेको भए यत्ति अशिव हुने थिएन त्यो

त्यसले त स्वास्नीमान्छेको अनुहारलाई नै योनी ठान्छ
मुटु ढुकढुकाइरहने स्तनमा पनि
योनी मात्र देख्छ
स्वास्नीमान्छेको जीउभरि त्यसले
योनी योनी देख्छ
त्यसैले उमारेको छ त्यसले
जीउभरि मैनकाँढा लिङ्गहरूको

त्यसले फ्रायडको मन देखेको छैन
वात्सायनको भावना त झनै देखेको छैन
नत्र यसरी जीउभरि लिङ्ग उमारेर
हेरिनसक्नु घिनलाग्दो हुने थिएन त्यो

त्यसले खजुराओको मन्दिरको मीठो यौन कविता
पढ्न जानेको छैन
जानेको भए त
यसरी टाउकोमा लिङ्गको सिङ उमारेर
यति हिंस्रक हुने थिएन त्यो

यदि त्यसको यौटै मात्र कान पनि
लिङ्ग हुनबाट बाँचेको छ भने
ओ कवि !
त्यसलाई यौटा मीठो प्रेमकविता सुनाइदेऊ
लैला-मजनुको कथा भनिदेऊ
ओ गायक !
त्यसलाई यौटा मधुर प्रेमगीत सुनाइदेऊ
कतै त्योभित्र अलिकति संवेदना तरङ्गिन्छ कि !