भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

असमान यात्री / देवान किराती

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

करिब २२ वर्षको ऊ
सधैँ हतारमै देख्छु ।

कहिले पुरानो गल्लीतिर
कहिले नयाँ सडकतिर
र कहिले चोकैमा ।

कहिले यता आउँदै – उता जाँदै गरेको
कहिले उँभो निस्कँदै – उँधो झर्दै गरेको
कहिले हतारमा जतै हाम फाल्दै गरेको
ठ्याक्कै मैजस्तो
हाम्रो सधैँसधैँ देखादेख हुन्छ ।

हेराहेर हुन्छ पूरै परिचितजस्तै
तर कहिल्यै केही बोल्दैनौ हतारमा
तै मुसुक्कै–मुसुक्कै हाँस्छौँ दुवै ।
             
एक दिन चोक–किनारामै च्याप्प समायो मलाई
र हतारमा सोध्यो
ए मेरा प्रिय यात्री
केही भेउ पाउनै सकिनँ मैले त
भन्देऊ न, विदेश जाने बाटो कता पर्छ ?

त्यस बेला
म देश सोचिरहेको थिएँ ।