भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

अस्तित्वको दावीमा साबतको बैला उत्सव / बैरागी काइँला

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


झङ झङ झङ

झङ झङ झङ

बाँधेर जन्तरले
लम्बाई, चौडाई र उचाई रातको,
रेखी हालेर बीजाक्षरहरुको, वरिपरि आयतन जिन्दगीको,

बूढो रुखको झोल्लिएको लोतीभरि पाखामा
हामी जो छौँ युक्लिप्टसका झ्याङहरु
नाचौँ–नाचौँ....... अकाल र बैलाहरूका विरुद्ध !

शून्य ओछ्याएर खाटमाथि....
फिलाहरुमा निद्रा चेपेर जोविस्मृत छौँ.,
नाचौँ–नाचौँ......अनस्तित्वका विरुद्ध !

खण्डहर खनेर क्षयग्रस्त हस्तिहाडमा
भाँच्चिएका चौकोनमा, माटाका खपटामा
कतै भेट्टिनु आफू....... भेट्टिनु आफू
कठबाँसको लिंगो वरिपरि मान्छेरोपेर
नाचौँ– नाचौँ....आफैभित्र पनि निर्वासनको विरुद्ध !

झङ झङ झङ

झङ झङ झङ

पोथ्राहरूमा संगीत दौडिदै उम्रिउन् दौडिदै उम्रिउन उम्रिउन म्रिउन्उन न्‌न् न् पातहरुमा बसून् आर्केष्ट्राका टुक्राहरु आर्केष्ट्राका टुक्राहरु टुक्राहरु क्राहरु हरु रु र् पेपिरसका पातहरुमा पातहरूमा हरूमा मा म्.....

ग्रहण गर ! ग्रहण गर !

एक चपरी माटोमा अर्पण गर्दछु
फुट्न लागेका कोपिलाले चेपेर कौमार्य!
हे डायनासिएस !
तर्सिउन् दुश्मनहरू ! दुष्ट र क्रुरहरू !
अकाल र बैलाहरू, शून्यहरू ! शून्यहरू !

ॐ नमः काल स्वाहाः शत्रु भष्मी कुरु स्वाहाः

लेउ चटाएर हरियो भ्यागुतामा भोग दिन्छु
भाइलोसको फिलिपलाई
आउँदो इतिहासलाई हिजोको भाकल !

झङ झङ झङ

झङ झङ झङ

मासु मासु मासुले डुबाऊ अङ्कमालले चुर्लुम्म बलियो डुबाऊ !
म उनिदिन्छु आफू र चोख्खो बैँस तिम्रो पुरुषमा !

झ्यासका फूल चढाएर
सिन्दूर चाटेर निधार र जिब्रोतिर !
म मासु मासु भिजिदिन्छु खेतभरि .....

ग्रहण गर ! ग्रहण गर !

आलो कौमार्य !
धरती ओछ्याएर कोठाभरि भूइँमा
चाट्दै बोकाको जिब्रोले

आह ! मूल फूटोस्......
कापकापबाट पृथ्वीको पड्किदै उम्रिउन्–बाग्मती !

शून्यको खपटा फुटाएर
चियाओस् चुच्चो.....अस्तित्वले !
आऊ............
समर्पित हुनुपर्दछ, आत्मालेर शरीरले, समग्रले !
 
झङ झङ झङ

झङ झङ झङ

उन्मत्त भैरव !
काखमा टेबलमाथि मृगासन लिपेर पस्किन्छ स्वास्नी मान्छे !
उन्मत्त भैरव !
जिब्रोले टिपेर चाट्दछ
काठमाडौँका हरेक स्वास्नीमान्छेलाई, भोग्दछन !

आऊ––––
समर्पित हुनुपर्दछ, आमाले र शरीरले, समग्रले !
आमिन ! आमि ...........
पुजारिनी !
किन भाँन्चिन्छन् लप्काहरू यज्ञकुण्डको ?

तिगेनजोङमा !
काँसका थालमा उमारेका जोखनाका बोटहरूले,
के भन्छन् ? द्वन्द्व युद्धमा मान्छे र बाघको,
तितेपातीका ग्रन्थहरू आकाश नपुग्दै काट्टिएर खस्दछन्.........


झङ झङ झङ

रेखा उचालेर लक्ष्मण रेखा उचालेर,
राजा चाल्र्सर मादाम द मोन्तेस्पान्
घुस्रिसकेछन् कि इतिहासमा फेरि पछिल्तिरबाट ?

झङ झङ झङ

अनुहार समातेर हेर, पुजारिनी !
फेरि पुरोहित र लर्डहरुले गेष्टापोका प्रेत आङ चढाएर
रात्रीक्लब र कलाइबडेनका जलाशयमा बेश्या चढाएर
डायनासियसको वेदीमा
फेरि झुक्याइदिएछन् कि त इतिहासलाई ?

झङ––––––––––––––––झङ

झङ––––––––––––––––झङ

पिट्दै, छालहरुले पिट्दै
हिर्काउदै मुड्कीले युद्धहरूका, हिर्काउँदै
अँध्यारो बौल्हाएर डुबाउन उर्लिरहेछ......
यो विद्रोहको उत्सव
किन भाग्दछौ ए उखेलिदैं रुखहरु रेखामा.....
हरे, डायनासियस
आँधीले पिठ्यूँमा घचेटेर
यी कापहरुबाट अँजुलीको शून्यमा चुहिए बिउहरू
चुहिए बिउहरू....

चिथरेर पेटभरि खडेरीले
बारीलाईपिट्छन्लाछ्छिदैखसेका असंख्य हातहरु !
तुहिए वृष्टिहरू !
तुहिए सृष्टिहरू !

झङ

झङ

झङ

हरे, आज पनि बियाड राखिएन !

पुजारिनी !
मृत्यु दरो बुनेर रिँगै मुख बिटमारेको छ जिन्दगीको, हिज
सम्भावनाको टुप्पा बारेको छ जिन्दगीको, हिज
बाँध फल खुवाएर त्यस पापी साँपले !

क्षीण सागरको गर्भ उधिनेर जितेको फूल
त्यो अमरत्वको फूल, चोरेर
फेरि झुक्याएको छ गिलगमेशलाई, हिज
त्यस पापी साँपले.....
हरे, जीवनबाट उम्कन असमर्थ छन् मानिस !
स्वतन्त्र, केवल स्वतन्त्र हुन मानिस अससर्थ छन् !

.......झङ........................झङ..........
..................झङ................

फर्केकोछु–– साबातबाट निधार घिसारेर उरुक निवासी !
रित्तो हत्केला र छालाभरि मृत्युको डाम टाँचा मारेर !


झङ
लाट्टिएर चर्चको शंख–ध्वनिबाट
काफे र रेष्टुराँबाट कोलाहलले भेदिएर
सब तरुणीले अभिशाप वरनु परेछ......गर्भ–तिरोहन !

उफ्! गर्भ–तिरोहन !

अश्वत्थामाको प्रहारले फेरि गर्भ तुहिएछ कि मेरो ?
आह ! मुक्ति मेरै गर्भमा तुहिएछ कि ?

ए हिरोशिमा !
सकिनँ, वैतरिणी तार्न सकिनँ तिमीलाई!
इडेनको बगैँचामा
बाँधा फल टिपेर, हिज
कल्की सिउरेको श्रीपेचभरि बुद्धिले

हाम्रो तेही बुद्धिले

अब फर्केर हाम्रै छात्ती भत्काउँछ इन्द्रचोकका ईँटहरुमा !
हातहरू प्रयोशाला भित्र
बुमेराँग, केवल बुमेराँग बनाउँछन् आजकल !

मेरा उरुक निवासी !
ए मानिस हो ! बचाइँनँ तिमीलाई बाँच्नुबाट !

तरुणीहरू
नील नदीमा खुट्टा धुँदै
यन्त्र, केवल यन्त्र ब्याउँछन् आजकल !


झङ

झङ

झङ

ऐना फुटे.......
आँगभरि टाँगेको एक मान्छे उचाईका ऐनाहरु फुटे......
ऐनाले टिपेर ऐनालाई दिदै प्रतिबिम्बहरु
सास फेर्नु ठुलो पारेको स्थिति........
त्यो पारदर्शक स्थिति आँखाबाट खसेर फुट्यो
ओएसिस फुट्यो र बुच्चियो यौटा बालुवाकणले !
प्रिज्म फुट्यो !
फब्लेँटो फब्लेँटो रङ्गमा ढले जिन्दगीका थामहरु !

हान्निएर अँध्यारोले गाँज्ला कि ?
खुम्चियो कोठा एक स्लाइस रोटीको भूगोलमा !
अब रोटीको घाइते खुम्चाइमा पनि थुनिएर
ढुँढीमा स्याउँस्याउँती उम्रिन्छन् मानिसहरु,
रेखामा घिस्रिन्छन् अपाहिज आकृतिहरु,

साबातको थाङनामा पोखिएका आँखाहरु,
मृत र अद्र्धमृत रेनेँसाका हात खुट्टाहरू,
जङ्गल, केवल जङ्गल उमार्दछन्, जङ्गल !

पराजित युद्धको खण्डहर उचालेर चेप्टा मान्छेमा !
मान्छे मान्छे मान्छे उफ् ! यो मान्छे मान्छेका जङ्गल !
शिकार जाँदा कतैझारी हाराएको छु आफूलाई
उफ् ! यो मान्छेका जङ्गल !

तिगेनजोङना

आँखाले चेप समयलाई भूइँसम्म तानेर,
हो, गंगाटाले चेप,
ढुङ्गाले कस मुट्ठीलाई बिच्किन्छ कि !
धुक्धुकी विश्वासको जोखनामा बोटबाट
हो, ढुङ्गाले कस मुट्ठीलाई!

खोई बाटाहरु !

कसले अँगालोमा बिट पारेर
झोमिदियो खाण्डवदाहमा नयाँ सडकहरु !

आँखाभरि पर्वत उमारेर सगरमाथाको उचाई उक्लिरहेका
शान्तिको पदयात्रामा हजारौँ सशरीर हस्ताक्षरसित
कसले होमिदियो मेरो घर ग्यास च्याम्बरमा ?

हरे, मेरो घरको हत्या भइसक्यो............
घर खोज्दै बित्दछ कि त आयु उप्किएर...........

कत्ति पिरोलेको हो..........
आफ्नो निजीपनको अनुपस्थितिले आफ्नै पैतालामा, घरमा,
उफ्! हाड चपाउँछ ....
लुलो–लुलो गलाउँछ र थुपार्दछ मासु कुर्सीभरि .....
शयनकक्षको सिरानबाट
भिनसको संगरमरमरको चल्बलाउँदो पाखुरामा चोबलेर
कहाँबाट डाक्दछ........कहाँबाट डाक्दछ......
दुलहीका कमला औँलाहरुमा उभ्भिएर..... नोष्टाल्जिया !
 – नोष्टाल्जिया !
 – नोष्टाल्जिया !
होइन कि त आफू –
जो थिचेको छु पैतालाले टेकेर !
आफैबाट निर्वासित भएर बित्दछ कि शताब्दीहरु.....

उफ्! कति पिरोलेको हो.....