Last modified on 23 अगस्त 2020, at 21:48

अहिले पनि त्यहाँ / सब्बु होलेयर / सुमन पोखरेल

म त्यहीँ बसिरहेको भए,
मेरा बुवाको जसरी र वहाँका बुवा
र वहाँका पनि बुवाका जसरी,
वहाँहरू बसेकै घरमा
त्यही गाउँमा,
अहिलेसम्म पनि त्यहीँ हुन सक्थेँ म...

मैले आफूलाई चिमोटेँ
ऐनामा देखिएको अनुहार मेरै हो या हैन भन्ने निर्क्यौल गर्न
र एउटा दृष्य आयो मेरा आँखामा ।

गाउँहरू, शहरहरू, बाटाहरू
फेरिएका छन् समयको गतिसँगै;
खुइलिएका छन् वन र चट्टानहरू;
तर अझ नजीक भएका छन्
मेरा गाउँका नभत्किएका बारहरू।

एकरत्ती पनि फेरिएको छैन
अगाडीपट्टी छड्के छानाको छायामा
दलान भएको मेरो घर।

स्थिर रहको पानीमा उफ्रिएजस्तो
सपनाको नाऊमा तैरिसकेपछि उड्न जाने असङ्ख्य चराहरूजस्तो
मेरा बुवा उभिने तरिका
अहिले पनि, उसै गरी
छँदै छ त्यहीँ ...

धूलोमैलो पखालेर
गाउँका देवीदेउता भाकेर
केराका काइयाँहरू चढाएर
र मनभित्रैदेखि प्रार्थना गरेर
मेरा हजुरबाले
आफूलाई एउटा कालो ओढनेमा ढाकेर
पूजा गर्नु भएथ्यो देवीको
सबैको कल्याण होस् भनेर।

वहाँले बिर्सनु भयो – मेरा बाले
र वहाँका बा र वहाँका पनि बाले पनि बिर्सनुभयो,
तर म, वहाँहरूको नातीको छोराको छोरो
सक्दिनँ बिर्सन ।

तिनलाई
जसले चिमोटेर रुवाउँछन् बालकलाई र
मुस्काउँछन् – त्यहाँ ।