भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आँखाको साउन / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सेता बादलका गुच्छाहरू
देखेर आकाशमा
म साँच्चिकै खुसी भएँ – फूल रोपेँ
गमला सारेँ
घरि गमला घरि आकाश हेर्दै
साउन ! मैले तिमीलाई पर्खिबसेँ,

टाढा परदेशिएको आफन्तलाई
पर–पर देउरालीसम्म
घुम्ती–घुम्तीमा आँखा बिछ्याएर
आँगन कुरेझैं
हरियो दुबोको गलैंचामा लमतन्न पल्टेर
मैले हेरिरहेँ, हेरिरहेँ
 
तिमी सपनामा पनपर्ने मान्छे आएजस्तै
जिस्काउँदै जिस्काउँदै सुकेका फाँटहरूलाई
नजिक–नजिक आउँदै थियौ
पुतली देखेर पछिपछि दौडिने बालकझैं
म चञ्चल भएर पर्खिरहेँ,

तिमी आउँछौ र मेरा गमलाहरूले फूल लगाउँछन्
तिमी आउँछौ र मेरा सुकेका खेतबारीले
बैंस भेटाउँछन् !
कुलो लाउनु थियो – पानी पटाउनु थियो
धान रोप्नु थियो – असारे गाउनु थियो !

बादल मेरो मनजस्तै पग्लिन्छ र साउन दिन्छ
अनि पोखिन्छ साउन – बर्सात भएर गरागरामा
फूलका पातमा अल्झेका थोपाथोपामा
किरणका प्रतिबिम्बित बिहान हेरेर रमाउँछु म
र सुनाउँछु आफन्तहरूलाई
ऊ, साउन आयो !

बर्खे भेलजस्ता यी रहरहरू मभित्र उर्लिंदा
बादल आएर ममाथि अड्यो,
हेर्न थाल्यो मतिर
मैले चियाएँ – त्यहाँ मेरा सपनाका
सुन्दर स्वरूप थिए,

तर त्यो आकृति बादलको खुम्चिँदै–खुम्चिँदै
बिस्तारै, फ्रिजमा राखिएको बरफजस्तै
ठोस बनिरह्यो !

म आफ्नो मन तरल बनाएर
उदास–उदास
निराश–निराश फर्किंदै थिएँ
म हिँडिरहेको बाटोले सोध्यो मलाई
किन आँखाभरि आँसु ?

साउन ! तिमी आउन त आएछौ
मलाई थाहै नदिएर – मेरै आँखामा  !