भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
आकाशले मेरो बाटो छेक्छ / हरिभक्त कटुवाल
Kavita Kosh से
एक्लै-एक्लै जब म हिंडिरहन्छु
अग्ला-होचा सडक-सडकमा
मलाई लाग्छ - आकाशले मेरो बाटो छेकिरहेछ
मैले उचालेका पाइला-पाइलामा तेर्सिएर ।
मेरा अभ्यस्त खुट्टा आकाश छिचोल्न व्यग्र हुन्छन्
म आकाश छिचोल्छु अनि देख्छु
आकाश मभित्र पसिरहेछ
मैले श्वास लिने प्वाल-प्वालबाट मैनझैँ पग्लिएर
र अनायास म छटपटाउँछु - चिच्याउँछु-
आकाश मभित्र अट्दैन
आकाश मभित्र अट्दैन
म त सानो मान्छे - एकदम सानो
धरतीमा एउटा बिन्दुमात्र
आकाश मभित्र अट्दैन !
तर आकाश सुन्दैन
उल्टै पसिदिन्छ मभित्र
मेरा कानका प्वाल-प्वालबाट
मलाई नै बहिरो पारेर ।
एक्लै-एक्लै जब म हिँडिरहन्छु
अग्ला-होचा सडक-सडकमा
मलाई लाग्छ - आकाशले मेरो बाटो छेकिरहेछ
मैले उचालेका पाइला-पाइलामा तेर्सिएर ।