भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आकाश र मान्छे / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



क्षितिजमा ठिङ्ग उभिएर
तिमी बोक्छौ किन आकाश यी बादलका पहाडहरू ?
हजारौं आकाशगङ्गाका सूर्य, चन्द्र र ताराहरू ?
स्वतन्त्रताको खोजीमा
रगतको होली मनाइरहेको म मान्छे
स्वार्थको पिंजडामा कैद छु
तिमी स्वयंसिद्ध स्वतन्त्र छौ, मुक्त र खुल्ला छौ
तिमी खुल्ला भएरै स्वतन्त्र छौ ।
अखण्ड छौ त्यसैले अनन्त छौ ।
लोभ, मोह, र अहंकारहीन,
इष्र्या,द्वेष र पक्षपातहीन, अदृश्य आकाश ।

सूर्यमा रोशनी र चन्द्रमामा शीत जस्तै
समुद्रमा वाफ र वादलमा पानी भर्नसक्ने तिमी
फर्केर हात जोड्दैमा मान्छेका स्वार्थ पूरा गर्नसक्ने तिमी
भोगेर आफू औंसीहरू ,अरुमा ताराको रोशनी छर्ने तिमी....
किन बनिरहेछौ तिमी आकाश
अपराधी मान्छेका सेवक सधैं... ?

आफू भन्दा निरीहलाई सिध्याएर
टुक्र्याएर आफ्नै जातिका गर्धनहरू
नाचेकोछु लाशहरू माथि म मान्छे
धर्तीलाई मुठीमा कैद बनाएर पनि सन्तोष नहुँदा
तिम्रो निश्छलतामा यसै यसै ग्लानि छु अहिले

के तिम्रो चट्याङले अपराधीको टाउको चिर्न सक्तैन ?
सक्छ भने हे आकाश !
ठोक तिमी बज्रले यी मेरा टाउकाहरूमा...
म मान्छेका स्वरुपको अपराधी हुँ ।
चट्याङ ! किन मार्छौ ती निरीह झुपडीहरू ?
ती त मरिसकेका लास हुन् ।
बज्र तिमी ती गगनचुम्बी भवनहरूमा
जुन तिनै लासका रगत पसिनाले ठडिएका छन् ।
ती कंक्रिटका होइन कङ्कालका भबन हुन्
बङ्गला होइन भूत बङ्गला हुन् ती
ती मेरा अर्थात अपराधका बङ्गला ।

पृथ्वी जितेको हुङ्कारले
म ललकार्दैछु चन्द्रमा र मङ्गलहरूलाई
तर,मेरो अहङ्कारलाई नललकार्ने आकाश
तिमी सहिष्णु माता हौ या क्षमादानी वुद्ध ?
छली कृष्ण हौ वा अन्धन्यायमूर्ति धृतराष्ट्र ?
क्षितिजमा ठिङ्ग उभिएर
तिमी बोक्छौ किन आकाश
यी बादलका पहाडहरू ?