आखिर सब हो माटो / भीमनिधि तिवारी
आखिर सब हो माटो
श्रीपेच हुमाउ, झुत्रो टोपी, को ठूलो ? को सानो ?
पुग्नु पर्ने ठाउँ उही हो सबको उही हो बाटो
आखिर सब हो माटो
रानीले पनि राजा छोड्छन्, अनि राजाले पनि रानी
गरीबहरुको पनि यसरी नै हुन्छ एक दिन फाटो
आखिर सब हो माटो
ताश, कुचिन, मखमल अदि थोत्रा बोरा, भाङ्ग्रा हुन्
गहना गुरिया, व्याज र तक्मा केहो ? – कालो टाटो !
आखिर सब हो माटो
सारा रत्नहरु, सुन,चाँदी पत्थरका हुन् प्रतिमूर्ति
महल, झुपडीमा फरक देख्छ जो त्यही हो अंधो लाटो
आखिर सब हो माटो
तेरो मेरो मेमे तेते गर्नु भारी भ्रम हो है !
आउने जाने, जाने आउने यो संसार दोबाटो
आखिर सब हो माटो
(‘बयासी भजन’ बाट)
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)