आगाकी छोरी / सुकन्या मारुती / सुमन पोखरेल
म आगाकी छोरी हुँ
ज्वालाबाट उठेकी।
जलाउन सक्दैन मलाई कसैले ।
बाहिर देखिँदाका लागि मात्र हो
पाँच पति पाउनुको गौरव।
मभित्र ती कसैले पनि पाउन सकेनन् आफूलाई ।
बसेनन् कोही पनि मभित्र।
एउटा खाली आकाश हुँ म
फराकिलो ठाउँको गन्तब्य।
कहिले काहीँ
जब पवनका पुत्र छेउबाट जान्थे
जागृत हुन्थ्यो मेरो ज्वाला
तर कहिल्यै आएनन् उनी
शीतल बतासजसरी चुम्बन गर्दै र आनन्द दिँदै ।
प्रतिशोधमा खेर फालेँ
मैले आफ्नो यौवन
र युद्धको एउटा सामग्री बनेँ ।
दरवारमा होस् या वनमा
कहिल्यै सकेनन् पृथाका छोराहरूले
मेरा गोडालाई पृथ्वीमा बाँधिदिन ।
तिनीहरू आआफ्नै व्यक्तिगत संसारमा हराएका थिए
हामी भेट भएका दिनलाई चट्क्कै बिर्सिएर ।
तिनीहरूलाई पछ्याउँदै हिँडिरहेँ म
सक्नेभन्दा बढी परिश्रम गरेँ
र पानीमा परिणत भएँ
किचकको भूमरीमा ।
त्यसैले कोरा, अपरिपक्व बुद्धीले
मलाई जलाउन र विनाश गर्न खोज्यो भने
आश्चर्यले भरिन्छु म ।
चुनौति दिइसकेकी छु मैले
नियन्त्रण गर्न नसकिने दु:शासनको शक्तिलाई।
आगोमा पनि बाँचिसकेकी छु म
र निलिसकेकी छु मैले
बलिरहेको भर्रभराउँदो अँगार ।
केहीले पनि जलाउन सक्ने छैन मलाई ।