भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगोका अक्षरहरूलाई / ज्योति जङ्गल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



युद्धको आगोमा झन् उज्यालो हुन्छ अक्षर
कस्ले भन्छ आगोले डढ्छ अक्षर ?
बरु जहाकहीँ बाटोभरि
बलेहुन् लाशहरु
र छेऊमै रोयो होला बन्दुक,
कस्ले भन्छ आगोले मर्छ अक्षर ?
 
उही जानोस्
किन आगै बाल्न जरुरी छ उसलाई
संयमको सुन्दर फूल उखेलेर
किन बारुदै हाल्नुछ जराजरामा ?
को हो यो विभिषिकाको क्रुर निर्देशक
पात्रहरु कति छन् दृष्य अदृष्य पक्ष विपक्ष ?
कहा लुकेर
को छन् रमाइरहेका ?
 
बरु डिलमा बसेर
रमिता हेर्छन् अक्षरहरु
लेख्छन् आसुको आर्त
तर डराउदैनन्,
 
प्रहार उन्मुक्त छ दुवैतिर
गिजोल्छ कलेजाहरु
चाल्नो बनाउछ पैताला
वाफिदै उदाउछ घाम
बहुलाउदै भाग्छ हावा
तर अक्षर कतै भाग्दैन,
अक्षर कहिल्यै लुक्दैन।
 
यो शरणार्थी इतिहास
युगको लेखान्त प्रमाण होइन
मान्छेको छातीमा बुर्कुसी मारिरहेको तांडव
हिंस्रक छ रपनि
पीडा जस्तो निरीह दुख्दैनन् अक्षर
मृत्युजस्तो सकिदैनन्,
 
आगो लेखेरै आगो निभाउछन्
जीवन लेखेरै जीवन बचाउछन्।
 
एकदिन युद्ध स्वयं
अक्षरसंग जिन्दगी माग्न आउनेछ,
कस्ले भन्छ अक्षर आगोसग हार्छ ?