भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १६ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अरूलाई सानो पारी आफू ठूलो हुन्छ,
अरूलाई निभाउन पाए मात्रै आफू बल्छ,
अरूलाई भस्म बनाउन सके मात्रै
कम्मर हल्लाउँदै हाँसी हाँसी
मसान–मुद्रा जगाउँदै नाच्छ,
आफूमा मात्रै तृप्त भईकन
त्यो बाँच्नै सक्तैन।
शक्ति
आगोजस्तै!
शक्ति पानीमा पनि हुन्छ
पानी आगो पैदा गर्छ।
अशक्तमा पनि शक्ति अलिकति
किन हुँदैन ?
हुन्छ।
शक्ति मात्रामा हुन्छ :
हिउँ तातो भए पनि हुन्छ,
तातो दाउरा नाश हुँदैन,
जब त्यो तातो आगो भै सल्कन्छ
तब दाउरा खरानी हुन्छ।
शक्ति यस्तो स्थिति हो कि त्यो–
आफ्नै रगत पिई पेट भरीकन
अस्तित्व दीप जलाई राख्छ,
जुन सूतलाई जीवन दिन्छ त्यो
त्यै सूतको जीवन लिन्छ।
पानी!
पानी आफैंमा स्थित रहन्छ ,
अनि सबैलाई भिजाई गलाई
चिसो चिसो
साम्य बनाई सुक्न चाहन्छ।
दुवै दुईतिर खिंच्तछन्,
त्यसैले
आगो पानी झगडा गर्छन्।
करोडौँ मानिस बौद्ध भए
तर बौद्धत्व बुद्धसितै मर्योर–
श्रद्धान्ध पूजाहारीले
पूजा गर्छु भनी पुष्प थुपार्दै
जीवलाई पुरेर मारिदिन लाग्यो,
अहिंसाको प्रतिपालन गराउन
खान नदिई मारिदिन लाग्यो,
विषको औषध विष ठानेर
रहस्यमय सनातनी रङलाई
रहस्यमय बौद्धरङले ढाकिदिन थाल्यो