भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / अघिको / भाग १९ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भयानक सुविख्यात संहारकर्ता
याटिलाको नेतृत्वमा हूणले जस्तै
आतङ्क मच्चाई आँधी हल्लाई
वातावरणमा कम्प गराउँदै
चंगेज खाँको नेतृत्वमा मङ्गोलले
एशियाई काँढावाल जिब्रो बढारी
चाटेर छरछरी–छरछरी रगत झिके,
त्यही वंशज तैमूरलङ
खोच्याउँदै फारसका सम्राट् बने,
सत्तरी हजार खप्परै–खप्परको
उनले एक सूचीस्तम्भ बनाए,
बने–बनाए–
मूलतत्वले शाखातत्वहरू
बने बनाए।
उनै मङ्गोल वंशज फेरि
भारतका मुगल बादशाह बने
ताजमहल बन्यो–
यसपाला खप्परको बदला
पसिनादान जम्मा गरीकन
सङ्गमरमरमाथि सुकाइयो,
श्रमको मीना भराइयो,
तीनै पत्थर चुली पारी
चिल्ला पोटिला गुम्बज बनाइयो,
पसिना बेच्ने कलाकारहरू
सुकेका पैसा दिएर धपाइए,
कलाको सतित्व अपहरण गरियो,
अनि ढंढोरा पिटियो,– आओ,
आँखा उठाई हेर,
बेगम मुमताजको निम्ति
बादशाह शाहजहाँको
छाती निचोरिएर चुहिएको
कत्रो कस्तो कत्तिको कलात्मक
आँसुको खँदिलो ढिको!
फरहादको शिर प्रेमले फोडियो
तर उनको रक्तविन्दु माटामा मिलेथ्यो,
मजनूको अश्रुविन्दु बालुवामा बिलाएथ्यो,
दरिद्र आँसुको स्मारक बन्दैन–
दरिद्र आँसुको मूल्य नै हुँदैन ,
हेर धनीको फेनिल आँसु–
ज्वलन्त रत्नजडित अमूल्य आँसु!
भीरबाट लोट्दै खसी खोलामा बगेकी
स्वास्नीको निम्ति दाउरेले
मैलो टोपी मुखमा कोची
रोएको झरिलो आँसु होइन,
शरताजको भरिलो आँसु!