भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग १० / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गाउँदै दाउरा बोक्नेहरू
एक झुण्डमा आउँछन्।
मान्छे!
तँलाई थाहा छैन
तैँले चुमेकै वायुमा
तैँले टेकेकै पृथ्वीमा
तैँले चिन्तन गरेकै भावमा
क्यारुजो पनि गाउँथे,
तैँले माझिन जानेको छैनस्,
तँलाई माझिदिएका छैनन्,
तँलाई माझ्न दिएका छैनन्
चुसाहा मारा समाजले
तेरा शरीर र मनलाई
निर्वाङ्ग बनाइदिएको छ,–
दौराका फेरवरिपरिबाट
पट्ठा, तेरा पुट्ठा र लङ्गौटी
बारम्बार देखिन्छन्,
प्राकृतिक आवश्यकताले
तेरो पैताला गैँडाको तल्लीजस्तै भएको छ।
तँलाई थाहा छैन
तैँले लत्तो छोडिदिएकोले
घुम्री–घुम्री लट्टा परीकन
ढकमक्क भएको तेरो केश
हीरा पन्नाको श्रीपेचभन्दा पनि
बहुमूल्यको छ,
त्यसमाथि प्वाल र चिरा परेको
झुत्रो टोपीबाट बाहिर
रौँको जिब्रो ल्याप्प झिकी
डाहाले संसारलाई गिज्याएँ
भन्ने तँलाई थाहा छैन!