भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग १७ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जङ्गली अगिअगि हिँड्दै
सर्की ठाडै उकालो लाग्यो,
कैयौँ उसकै पछिपछि लागे।
जतिजति ती माथि चढ्दथे
उतिउति हिमालयमा चुचुरा
शिर उचाली अग्लिन्थे।
भूगोलको भाल नेपालहिमाल!
मानवताको मुकुट विशाल!
पाउने व्यथा लाग्दा पृथ्वीको
आँसुले व्यक्त गरेको काल!
उज्ज्वलताको प्रतिस्पर्धामा!
प्रथम निस्कने विक्रान्तदल!
उसले छुनासाथ बादल
कीराजस्तै गुँडुल्कियो।
मानिसको कृतिमा रौँप्रमाणको
टेढो भए पनि खट्कन्छ,
परन्तु प्रकृतिमा बाङ्गा हाँगा,
खस्रा बोक्रा भएका रुख,
बेमेलले पहिरो गएका पर्वत,
ढुनमुनाएका नदीनाला,
कोल्टे परी चेप्टिएका छहरा,
छरिएका चुच्चाचुच्ची पत्थर,
जथाभाबीसित पल्टिरहेका झार,
फाट्टफुट्ट फुलेका फूल, सबै
सर्वाङ्गसुन्दर भएर रहन्छन्।
मानिसले एउटै हाँगा काटोस्,
अथवा कतै खनखान गरोस्,
कलमी काटोस, चौतारो बनाओस्,
लहर मिलाईकन रुख लाओस्,
ड्याङड्याङ बनाई
फूलबारी सजाओस्,
सङ्गमरमरको घर उठाओस्,
तर स्वरूपमा विकृति देखिन्छ–देखिन्छ–
एक न एक ठाउँमा पुगी
त्यो बेछाँटिलो हुन्छ–हुन्छ,
प्रकृति नै बिटुली भएझैँ हुन्छ।
विमानबाट पृथ्वीलाई हेर्दा
ठूला–ठूला नगरीहरू
छालाका उकुच पल्टेका
खटिराजस्तै देखिन्छन्,
लामा–लामा पुल–सडकहरू
काटिएका घाउझैँ देखिन्छन्,
समुद्रमाथि वा भूमिमाथि
बादलका थुम्काहरू
अथवा हिउँका थुप्राहरू नै
मनग्य मनोज्ञ मञ्जुल देखिन्छन्।
त्यसैले जङ्गली करायो–
तर मानिस सिंगारिदिन छोड्दैनन्,
सौन्दर्यलाई घुम्टोले लपेट्छन्,
फरियाले छोप्छन्, मालाले ढाक्छन्,
अनि स्वादलाइृ कलुषित पार्छन्।
उसले परतिर देखायो :
गह्रा–गह्रामा
खण्ड–खण्ड सिंढी बनाई
मालामाथि माला खप्टेको
गिरिवर उभिएर रहेको छ,
होचो पर्वत
निहुरेकी पार्वती दुलहीले
धानका झुलेका सुनौला बालाका
घुम्टो ओढिरहेझैँ छ,
गौरीशङ्कर प्रदर्शिनी
हेर्नलाई बनाएको
वरतिर खेती गरिएको त्यस्तै पाटा
यूनानको याम्फिथिएटरझैँ छ।
जङ्गली त्यहीँ पुगी सबभन्दा अग्लो
ढुङ्गामा उभियो,
गिर्दा लागी सबै बसे!
जङ्गली न्वारानको बल बटुली
सप्तम स्वरले गर्जन लाग्यो!
‘हे मैले, हे झुत्रा, नाङ्गा,
एक चौथाइ पेट भरिएका ,
त्यान्द्रामा प्राण झुण्डिएका,
हे औषधि नपाएका रोगी,
हे अल्सी महाकातर जोगी,
हे अन्धा वीर, चुत्था झगडिया,
छोटो मन भएका हे प्रतिभाशाली,
हे हलुका हावामा उड्ने सिमलका भुवा,
चाँडो भाव चढ्ने अमली,
हे वृथाभिमानी
हे अप्ठयारा,
अनुत्तरदायी
हे विद्याले किचिएका मूर्ख,
हे उदार उच्छृङ्खल,
हे बाँच्न नचाहने, मर्न डराउने
ऐश्वर्यशाली डिङ्गर,
हे आत्मघात गर्न लहसिने
जानी–जानी निर्धा भएका लाछी,
भोलिको हेर्ने–नहेर्ने
हे उपध्र्यानहा, उद्दण्ड, निरङ्कुश,
हे आङ्खनो जरा आफैँ खन्ने सहज बौलाहा,
हे ईख नभएका सर्प,
हे कापट्यले भरिएका
अन्यायी विषालु डाहाले,
हे छाडाछोडा, लत्ता छोडा,
बुझपचाउने सुन!
तिमीहरूको कानमा म
तातो–तातो तेल खन्याउँछु,
भित्र मनमा जौतिल पाकोस्,
सु्न!
म तिमीहरूलाई मात्रै भन्दिनँ
तिमीद्वारा समस्त नेपालीलाई,
नेपालीद्वारा एशियालीलाई,
एशियालीद्वारा विश्वलाई भन्छु,
यो मेरो शिक्षा होइन ,
पुकार होइन, विलाप सुन!
आगोपानीको झगडामा हामी
अशान्ति मात्रै देख्छौँ,
आगो–आगोमा मृत्यु देख्तछौँ,
पानी–पानीमा मसानको शान्ति,
पानीको रस र आगाको आँचमा
मात्रै जीवन ढुकढुक गर्छ।
पृथ्वी अगि अग्निपुञ्ज थियो
पछि यो हिउँको ढेलो होला,
तर आगो–पानीको बाँडचुँडमा
मात्रै जीवनको गति घुमिरहला,
अनि आरोग्य–अमृत बहला।