भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग २१ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘करोडौँ निर्दोष बालकले भन्दा
निर्दोषी भै हाँस्न सक्ने
के कुनै हुर्केको व्यक्ति होला?’
सारा एकै स्वरले कराए–‘असम्भव!’
जङ्गलीले फेरी भन्यो–
‘निर्दोषी कोही पनि छैन,
हाम्रो आँखाभन्दा स्पष्ट
कल्पनाले नधमिलिएको
संसारमा कुनै दर्शन छ?
वैज्ञानिक दार्शनिक विश्लेषणले
सर्वज्ञ ठहराएको मानिस
कतै कोही जन्मेको छ?’
सारा एकै स्वरले कराए–‘छैन!’
जगत्भरका आजसम्मका सङग्रहित
जम्माजम्मी ज्ञानभण्डार
जुनसुकै विद्वद्वरको निमित्त पनि
अगाध र अपार छ!
‘काखको बालक चुँडिँदाको रुवाइ
अथवा दाम्पत्य–आलिङ्गन
च्यातिँदाको मर्मान्तिक एक दुई वाक्य
हामीले प्रत्यक्ष सुनिएका बराबरी
जगत्भरका काव्यजगत्मा
उत्तमोत्तम ठहरिएका
कृत्रिम आलङ्कारीक उक्ति
दाँजामा आउन सकेको
के कुनैले सुनेको छ?’
सारा एकै भावले कराए –‘छैन!’
जुनसुकै महाकविभन्दा पनि
यस विशाल भुवनको बाव्यजगत्
दाँज्नै नसकिने श्रेष्ठ छ।