भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आगो र पानी / पछिको / भाग २ / बालकृष्ण सम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अलिकति ज्ञान अलिकति अज्ञान,
केही प्रत्यय केही अनुमान ,
केही असम्भव ऐतिह्य उपमान,
केही रहस्यमय शास्त्रप्रमाण,
केही डुबुल्की केही उडान,
केही विनय केही अभिमान,
अलिकति स्वार्थ अलिकति पदार्थ,
त्यसमा अलिकति गीतिछन्द ,
अलिकति क्रियाविहीन गद्यकविता,
अलिकति वर्ण पहेंलो जून,
अलिकति मात्रा शिशुको जत्रो,
केही वर्णन केही छाया,
केही बिम्ब केही प्रतिबिम्ब,
अलिकति आस अलिकति त्रास,
केही छन्द केही स्वच्छन्द,
केही मुक्त केही बन्द,
केही सरसतम भावुक कवित्त,
केही सत्य र शुष्क गणित।
संसारमा खिचडी पाक्यो!
मुण्डमुण्ड बुद्धिमान् मुखले
कुण्डकुण्डको पानी चाख्यो,
यातायातको मेला चल्यो,
मानिस–मानिसको सम्पर्क बढ्यो,–
पहेंलो र रातो मानिसबाट
सुन्तला रङ्गको मानिस निस्क्यो,
कालो र सेतो जातिबाट
गहुँगोरो जन्म्यो,
शुद्ध अशुद्ध भई विशुद्ध भयो।
जापानी दाँत, फारसी ओठ,
अरबी कपाल, मिस्री नाक,
भारती आँखा, चीनियाँ रङ,
रोमानी स्वर, यूनानी जीउ,
अमेरिकी बल, रुसी एकता,
फ्रान्सिसी स्वभाव, अङ्ग्रेजी बुद्धि,
जर्मनी साहस, नेपाली शौर्य
छ्यासमिस भएर मुछियो,
संसारमा खिचडी पाक्यो!
सिक्री लठारिंदै चुँडिन थाल्यो,
बन्धन छिन्दै मुक्त अल्झियो,
विश्वासहरूमा कलह भयो,
हीनयान, महायान र वज्रयानमा जुद्ध चल्यो,
भोटलाई ठोक्ने अङ्ग्रेजलाई
नेपालले सहायता दियो,
अनि रुस र जापानको युद्धकथाले
पट्टलको सिरक ओढाएर
नानीलाई सुताइदियो!