भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आगो / दुबसु छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आगो अचेल आफ्नै पीरले रुन्छ
आगो अचेल आफ्नै डरले हुन्छ

तिमी कोइला कोट्ट्याएर हेर
समिधा पल्ट्याएर हेर, डढेलो उचालेर हेर
आगो आँसु खसाली-खसाली रुन्छ
जति आँसु खसालेर रुन्छ आगो
आगोमा उति ज्वाला दन्कन्छ

मानवता
कहिले ग्यासच्याम्बरको आगोमा डढेको छ
मानवता
कहिले हिरोसिमाको ज्वालामुखीमा बलेको छ
मानव
कहिले काबुलको अग्निकुण्डमा
कहिले हर्जगोबिनाको रक्तकुण्डमा जलेको छ
देख्तादेख्तै बर्लिनको पर्खाल र
हस्तिनापुरको मिनार ढलेको छ
आगोलाई मान्छेको कथा पनि थाहा छ
आगोलाई मान्छेको व्यथा पनि थाहा छ
घरीघरी धारे हात पारेर
प्रमिथसलाई सराप्छ आगो
घरीघरी हिक्का काढेर
छाती पिटीपिटी रुन्छ आगो
आगोको पनि मन हुन्छ, मुटु हुन्छ
आगोको पनि मन दुख्छ, मुटु दुख्छ
तिमीले देखेका छैनौ र मात्र
आगोको पनि बिझिरहने घाउ छ
आगोको पनि बल्झिरहने घाउ छ
घरी त्यसै घाउमा नुनचुक छर्केर
घरी त्यही पाप्रा बसिसकेको घाउ कोट्ट्याएर
आगो अचेल सधैँ रुन्छ
आगो अचेल आफ्नै डरले रुन्छ
आगो अचेल आफ्नै पीरले रुन्छ
आगो अचेल एकान्तमा सधैँ रुन्छ ।

साझा पुरस्कार प्राप्त कवितासंग्रह 'अश्वमेध यज्ञका घोडाहरू'को 'निमानवीयताविरुद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू' भागबाट