भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आज है राती के भयो एस्तो ? / मुकुन्दशरण उपाध्याय

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आज है राती के भयो एस्तो नीद नै लाएन
यो मेरो मन नेपालै पुग्यो फर्केर आएन
घरि मँ रोएँ हिमाल सम्झी सून ले कुँदेको
घरि मँ रोएँ रुमाल सम्झी तिमीले बुनेको

कस्तो छ तेहाँ साहु ले ब्याज लियो कि लिएन
मरेछ पाडी भैंसी ले दूध दियो कि दिएन ?
पाएँ नि थाहा टारी मा पूरै पहिरो आएछ
बेंसी को तौली रोपेको खेत खोला ले खाए छ

अस्ति है ताका सानु र तिमी विरामी थियौ रे
नाक का फूली बुलाँकी बेची ओखती लियौ रे
घाँस को डोको बोकेर पुण्टे वन मा गएछ
स्कूल पढ्ने रहर तेसको तेत्तिकै रहेछ !

छिमेकी घर साहु को छोरो शहर गयो रे !
बोर्डिङ हो कि कहाँ हो कुन्नि भरना भयो रे !
पुण्टे ले आमा ! मँ पनि जान्छू भन्यो कि भनेन
सानु को मन चञ्चल जस्तो बन्यो कि बनेन ?

सम्झन्छू खालि तिमीले थोत्रो फरिया धोएको
मँ हिँड्ने बेला पुण्टे ले जुत्ता भनेर रोएको
सानु ले कठै ! राेजेकाे जामा नकिनी आएथेँ
हेरेकी थियौ कोदा को डाली त्यो थाहा पाएथेँ