खेल्दाखेल्दै
आफ्नो आप्पाको हात समाउँदै
छोडी गएपछि साथीले
बारीडिल आएर सोधेयँ
'आमा, कस्तो थियो मेरो आप्पा ?'
कान्लामै उभिएर
आमाले धूमिल आकाश हेर्नुभो
र
आधा भरिएको डोकामा
मुट्ठीको घाँस फ्यात्त फ्याँकेर खाँद्न थाल्नुभो ।
'छिट्टो भन न,
कस्तो थियो मेरो आप्पा ?'
ठुटो रूखको च्यूलो लुच्छ्दै भन्नुभो
'तँ ठूलो भएपछि ऐना हेर्नू देख्नेछस् आप्पाको अनुहार ।'
बाख्राको पाठोझैँ
बुरूक्क - बुरुक्क उफ्रदै घर आएँ
मूल ढोका छेउको ठूलो ऐना हेरेँ
अहँ ! देखिनँ आप्पाको अनुहार ।
भित्तामा झुन्डिरहेको ऐना झिकेँ
छामेँ, आफ्नै औँलाका प्रतिबिम्बहरू
उप्काउनु खोजें पछाडिपट्टिको फ्रेम
र पच्छारिदिएँ सिकुवामा झऱ्यामझुरूम ।
ए...हे ! आमाले हेर्ने बट्टे ऐनामा पो
देखिन्छ होला आप्पाको अनुहार ।
पिङ्ग्या*माथिको
बाघमुखे काठको बाकस मझेरीमा झारेँ
केही खुसी जोगाइरहेको तालालाई
लोहोराले ढ्याङ-ढ्याङ कुँच्चाएँ
रहस्यको गाँठो कसी बसेको कब्जालाई
खुकुरीको टुप्पाले ठुङी - ठुङी फुस्काएँ ।
नउघ्रिएपछि बाकस
बञ्चराको धारले कैटाएर
बट्टे ऐना झिकी हेरेँ,
देखापरेन आप्पाको अनुहार ।
बट्टे ऐना खोल्दा साँच्चैको आप्पा
फुत्त निस्कने पो हो कि ?
बिस्तारै-बिस्तारै बट्टा खोली हेरेँ
चुपचाप थियो बट्टाभित्र
फक्रिनसकेको कोपिलाझैँ
बेरिएको एक झुप्पो पोते
किरिमिरिङ् लेख्दालेख्दै मसी सक्किएर
कच्याककुचुक पोको पारिएको रक्ताम्य पुरानो कागज ।
फस्रक्कै परेर
दुबै हातका औँलाहरू खापी
सिरानी लगाउँदै मझेरी कुनामा अडेसो लागेँ ।
एकैक्षणमा खै ! कता... हो कता.... !
हिमालभन्दा माथि
कपासैकपासको भुवामा तैरिएर
बादलभित्र छाम्न खोज्दै थिएँ
आप्पाको अनुहार
सरर्र बिलाएर गयो ।
तन्द्रामै रहेर आँखा मिच्दामिच्दै
रेसमी तरङ्ग गुजुल्टिँदै आएर साउती गयो
'आमाको ढुकढुकी छाम्नू, मेरो प्राण भेट्नेछौ
अल्झिबसेको हुनेछु नानीभित्र
नियालेर हेर्नू आमाकै आँखा ।'
०००
* पिङ्ग्या - आँट/आँटी