भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आफैसित / प्रेमराजेश्वरी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मन, प्रेम प्यारको दुनियाँ छोडी
अश्रु, निवेदन आज बिर्सी तँ !
युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर
एक एक नरमा तैले कोमलताको झंकार दिएर,
प्रेम स्नेहको सट्टा-
“पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष,
मिथ्या पार्यो नरले ;
‘भय‘ कातरता नै आए नरसाथ !
अनि, नारी ! तैंले पाई नर-भय-जन्य-
‘दम्भ‘ को दुनियाँ,
‘शिशु‘ ‘साथी‘ अनी ‘संरक्षक‘ बन्दै,
क्रमशः छलले,
‘शासक कठोर‘ भई ‘कारा‘ पार्योर -
तेरै निम्ति दुनियाँ ।
तेरो प्रयोग नै विकृत गर्यो नरले,
नारी !
तैपनि तैं नर निर्मात्री ;
कता जान्छ नर मूढ,
नारीको शिशु,
सृजनुको एकमात्र तैं पापी !
के तेरो गति रुद्ध ?
पासमा तेरो सीमाहीन हृदय
जगतविधायक आशीर्वादक होइन र तेरै धवल प्रणय
आँखाका अनुराग नाघ्न सक्तछ
‘सृष्टिको कौशल ?”
मनको मङ्गल दुर्ग विजित होला
कायरताको बल ?
छोड्नु पर्छ नारी तँलाई,
बन्नु काँचको मृदुल पात्र
इच्छा लाग्दैमा भदाक्रान्त औ दीन पुरुषले-
अहम् हेतु तोडोस् फोडोस् !
स्वर्णसुरा झैं छचल्किदै, मद-रुप छोड,
तँ कसरी यहाँ प्रेयसी मात्र ?
इच्छा लाग्दैमा कायरताले क्लान्त पुरुषले
पान गरोस् मदमत्त बनोस् !
हीरा झैं धप धप दीप्तमयी औ वन कठोर
धन-लौहले पनि टक्कर खाइ,
आफ्नै टाउको फोडोस् !
शक्ति पुञ्ज विद्युत झैं बग्नु छ आज,
र नरले,
तेरै प्रकाशमा ‘शौर्य्य‘ र ‘शुचिता‘ हेरोस् !
लहराहरु झैं फैली
गर त आप्त,
मनुजको घातक पातक
ज्योत्स्ना झैं पावनताको गरिकन प्रसार,
गर धवल धौत
मानवताको कालो कल्मष ।
गर ‘साहस‘ को वरदान,
आत्म-विश्वासी होओस् मानव,
अक्षय पौरष गर दान,
स्वयंमा निर्भर होवोस् मानव
अनि हेर,
स्व-साहसमा निर्भर नर नै छ-
तेरो साथी !
अनि पाऊ
धोई पखालेको
पौरुष-प्राप्त मनुज नै छ
तेरा –
असन्दिग्ध विश्वासी ।
जयनाद गरी भन,
मेरो नारीको मन-
“तेरो छुटोस आज “संरक्षण“
 नव लिई चेतना हिंड,
चुँडाली आज-
नारी कै निमित्त नरको-
‘शासन !‘
नाम प्रेम, प्यारको जुनियाँ छोडी,
आज बगाऊ,
नव-चेतनाको उन्मुक्त धार,
लय आव्हान, कर्तव्य नयाँ, नव युगले-
चाहन्छन् खोल्न,
रुढिले बन्द द्वार !
यी दिशाहरु हाँस्तछन्,
हाँस्तछन् रश्मि, नवोदित रवि, शशी, तारा
बिर्खी, नारी, अश्रु निवेदन
प्रेम, धारको दुनिया छोडी,
नयाँ ध्येय, नव प्रेम, गएको-
आज बगाऊ;
नारीको मन-
नूतन धारा

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)