भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आफ्नै देशसँग / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


बत्तीस वर्षअघि
म जन्मिएँछु,
सुश्री काली खवासले लिपेका हरियो भूइँमा
बाबाले रोप्नुभएको आलुचाको रुखभरि
पोखिएको पहेँलो घाम
र करेसाको लाहुरे फूल आह !
मेरी आमाका सपनाका ती घुर्मैला क्षितिजहरू
बत्तीस वर्षअघि
आज, अझै त्यो क्षितिज
मेरी आमाका जब्बर जोर आँखाभित्र
सलबलाइरहेको छ–
गहिरो
नीला
सर्पिल ।

तर देश !
तिमीले मेरी आमाका ती इमानदार सपनाहरूलाई
अपमान गरिरह्यौ/गरिरह्यौ
तिम्रो सपनाको उज्यालो बोकेर मैले
यो कालो सहरमा सिसिफस बाँचेको
मेरा राता पसिनाहरू खेलाएर तिमीले
 
आफ्नो खुनी महोत्सव मनाइरहेको
इतिहास
बुद्ध
हिमाल
र रगतका कुलतहरूमा फसाएर
मेरो बलिष्ठ विचारको पुरुषत्व छिनेको
अब, हिसाबकिताब गर्छु म ।

सुन !
मैले तिम्रो एक ढिको नुन सित्तैँ खाएको छैन
एक खिल्ली सुर्ती बेहिसाब पिएको छैन
एक हरक श्वास त्यस्सै फेरेकाछैन
आज भन्छु म तिमीलाई
मेरा पुर्खाहरूको अहम्को चिहान
तिनका गलेका मासु, हड्डी र आँखा
तिनका सम्पूर्ण अज्ञानताका पीपहरू
बुझ्छु म तिमीलाई
बुझ्छु म तिम्रो अनुहारको छली मुद्रा
बुझ्छु म तिम्रो मौनताको क्रुर भाषा
अझै म अनागरिक भइसकेको छैन देश !
बुझ्छु म ति राष्ट्रिय गीतको स्लो पोइजन्स् ।

यो सहरका कुना–कुनामा
मेरो आँसुको उज्यालो हरफ
तिम्रा लागि सितन भएको छ
रक्सी, वेश्या, कालो व्यापार भएको छ
प्रजातन्त्र भएको छ–मेरो निर्दोष परिचय

बत्तीस वर्षपछि–
आज,
 
म मुक्त भएको छु
म मुक्त भएको छु– तिम्रो आधुनिक यातनाबाट
भर्खरै, आत्महत्या गरेकाकमैया भएको छु म
भर्खरै, जङ्गल फर्केको कुसुन्डा भएको छु म
एकान्त जङ्गलको बाँसुरीमा सन्किरहेको लोकधुन पछ्याउन
जुरेली भएको छु म जुरेली
देश !
म मेरी आमाको सपना अल्झेको
त्यो घुर्मैलो क्षितिज भएको छु क्षितिज ।