आफ्नै नाउँ बिरानो भो / सुमन पोखरेल
धूलाले बिर्सिसकेछ खेलेको ठाउँ बिरानो भो’
यो कस्तो बेला आयो हुर्केको गाउँ बिरानो भो’
सुनिरहँदा मात्र चिनेजस्तो लाग्ने रहेछ
बोलाउँदैन कसैले, आफ्नै नाउँ बिरानो भो’
निँद गयो, आराम गयो, गयो सबै उसकै साथ
कहाँ गयो कता गयो यतै बोलाऊँ, बिरानो भो’
टाढा धेरै टाढा गयो जीवनको एउटा मान्छे
नसम्झूँ त याद आउँछ, चिट्ठी पठाऊँ, बिरानो भो’
धेरै भएछ नदेखेको, व्यस्त भएछ जिन्दगी
आउन ऊ भ्याउँदैन, म भेट्न जाऊँ, बिरानो भो’
मुस्काउँछ हरेक पल मुटुभित्र एउटा मुहार
मेटाउन सक्तिनँ म, तस्बीर बनाऊँ, बिरानो भो’
के भनेर बोल्नु मैले त्यसै रिसाई जानेसँग
झगडा गर्न जान्दिनँ, माया लगाऊँ, बिरानो भो’’
कसो गरूँ निष्ठूरीलाई, राखूँ त म कहाँ राखूँ
टाढा राख्ने मन छैन, मनमा बसाऊँ, बिरानो भो’
कतिन्जेल बोक्नु मैले उसको नासो, सुमन!
यी चोट उसका उसैलाई फर्काऊँ, बिरानो भो’