भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आमाका बारेमा / धिरज राई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साह्रै अप्ठेरोमा परेँ,
खै ! कसरी गरुँ आमाको परिभाषा ?

बरु सोधेका भए मेरो बारे
सजिलै भनिदिन सक्थेँ–
दिनहुँ तिमीले पढ्ने समाचारको
निर्लज्ज पात्र
म हुँ ।

तिम्रो कवितामा उभिने अजङ्गको बिम्ब
जो सधैँ तिम्रै विरुद्धमा रहन्छ
त्यो म हुँ ।

राजनैतिक कारखानामा प्रशोधन भइरहने
अपराधको नायक
म हुँ ।

तिमीले थाहै पाउन नसक्ने गैह्रकानुनी धन्दाहरु,
विना शंका पत्याइदिने असीमित झूटहरु,
आकाशभन्दा फैलो लोभको आँखा,
सगरमाथाभन्दा अग्लो घमण्ड,
कर्तव्यलाई सम्झनै नसक्ने हठी–दिमाग,
संवेदनाको लासमाथि हाँसिरहने मानवीयता,
सबै–सबै नै म हुँ ।

नसोध्नु, सोधी त हाल्यौ
बस्, यत्ति भन्न सक्छु–
आमासँग रहुन्जेल

सबैभन्दा असल थिएँ ।