भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

आमा / श्रवण मुकारुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छोरी!

जब तिमीले जानैपर्ने भयो स्कूल
तिम्रो हात समाउन आयो ऊ
पुर्‍यायो उसले स्कूलको ढोकासम्म
र आफ्नो काँधबाट झिकेर
दियो तिमीलाई झोला र टिफिन ।

फर्किने बेला फेरि
पुग्यो ऊ त्यही ढोकामा
तिमीसित माग्यो झोला र हात
खोलेर आफूजत्ति नै अग्लो छाता
ओढायो तिमीलाई
नडढोस् भनेर कलिलो अनुहार
छेल्यो उसले घामका सहस्र आँखा।

जब काट्नुपर्ने भयो बाटो
ट्राफिक झै उभियो ऊ सडकबीच
र, थामियो व्यस्त शहर केहीछिन
यसरी आइपुग्यौ तिमी स्कूलको पहिलो दिन घर
जब तिमी बस्यौ हेर्न कार्टून
पस्यो ऊ बाथरुम
धोयो तिम्रो टाई, मोजा र अज्ञानता।

जब तिमीलाई लाग्यो भोक
पस्यो ऊ भान्सा कोठा
मानौं पसिरहेछ दहमा चारो खोज्न पानीचरा
जब झ्कायौ तिमी आनन्दले
खायो उसले तिमीले उबारेका खानेकुरा
तिमीलाई अहँ परेन निद्रा
र पढ्न थाल्यौ कमिक्स
अहो! पढिनसक्दै तिमीले अन्तिम पाना
माझिसक्यो उसले जुठाभाँडा
पुछ्यो चौका र आइपुग्यो तिम्रो ओच्छ्यान मुनि
तिमीलाई मन पर्ने भूतको कथा कहन
यसरी यौटा बालक भयो ऊ तिम्रो आमा।
.....
छोरी!
यसरी यो घरमा थाहै नपाई
जब तिमी भयौ नअट्ने
र गयौ प्रेमीको घर
र उठ्यौ हेर्न अग्लो नयाँ बिहान
च्यापेर बेहुली लुगा
निहुरिंदै पस्यौ नयाँ बाथरुम
अचानक ढक्ढकायो कसैले ढोका
खोल्यौ तिमीले सुस्तरी
तब तिमीमाथि फाल्यो कसैले
बिहेको कमिज र पतलुन
र बन्यो ऊ लोग्ने।

वास्तबमा जब तिमी
उसको छोराको आमा हुन भयौ तयार
त्यतिबेलै उसले फालेको हो प्रेमीको हृदय
र ओढेको हो लोग्नेको आवरण।

हो, झ्स्कियौ तिमी
जसरी झ्स्किन्छ पृथ्वी भूकम्पमा
काम्यो तिम्रो मुटु बतासमा सिरुझै
अनायास सम्झियौ तिमीले बाल्यकाल
बेस्सरी ढप्कायौ ढोका र बर्बरायौ तिमी
आमा! आमा!! आमा!!!
आयो तिम्रो आँखाभरि आमाको जब्बर दुई रुप।

पहिलो,
जसले तिमीलाई जन्माउन रोजेकी थिई मृत्यु अर्को,
जसले मात्र हुर्काउन समाएको थियो तिम्रो हात
फर्कियो ऊ आफ्नै गाउँ देहात
म बाबु हुँ मलाई थाहा हुन्छ तिम्रो वेदना।

छोरी!
अब खोल्ने छौ तिमीले बाथरुमको ढोका।