भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

आशा / चूडानाथ भट्टराई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो दिव्य नील, नभमा जडिए कमानी
त्रैलोक्यमै छ परिपूर्ण श्रद्धा ! जवानी !
मस्ती छ जीव जतिमा जड छन् फुलेका
आनन्दले मगन मस्त भइ झुलेका ।।१।।

साफल्यमा कृषकको फल गाँथिदो छ
उद्योगमा श्रमिकको दल गाँसिदो छ
आनन्दको लहरले दिल मिल्न सर्छ
लौ ! स्वर्ग मर्त्य यसले हुनु एक पर्छ ।।

लौ ! स्वार्थको झलकमा दुनियाँ विगारी
संसारलाई यसरी अलपत्र पारी ।।
मान्छे सदै रगतले यसरी मुछिन्न
आफ्नो छ जो हक नलेर त साभ्य हुन्न ।।

यो जिन्दगी दुख खपेर सडेर जाला
उत्साहसी हृदयको गति बढ्न जाला
सिद्धान्तको रसरसाद नसा नसामा
आनन्दमग्न मन हुन्छ समानतामा

देखेर आज बदली रहने तमाशा
ज्योतिर्मयी पिलपिले अनि बन्छ आशा
यो कल्पना हृदयलाई भयो सहारा ।
बन्छन् प्रकाशतिर फेरि यिनै इशारा

(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)