आशौच बारेको रात / शुभलक्ष्मी लम्साल
सेताम्मे भएर सूर्यलाई लल्कार्दै
रात आशौच बारिरहेछ।
हिमालसँग मितेरी लगाएर रात
रक्तपात गर्जिन्छ हिमपहिरोमा,
उसका रक्तरन्जित आँखाबाट
आगोका लप्काहरु दन्किदैछन्।
मस्त हुन्छ रात
राख्दैन सद्भाव कसैमाथि
घनघोर वर्षापछि तहसनहस भूगोलमा
आगोको लाली फैलिएको चिच्याहाटमा
बत्ति मुनिका किरालाई झैं
डढाउछ भ्रमका लप्काहरुले।
पानीमा बस्ने माछाहरु
त्यसैको लेउ खाएर बाच्नेहरु
रात छिप्पीदै जाँदा
पानी सुकाउने प्रपन्च रच्छन्
सकेनन् भने
आफूलाई बदेलेझै
बदल्न खोज्छन् नदीकै अनुहार पनि।
शिकारको खोजमा कैयौ सर्पमनहरु
दंश मारिरहेका हुन्छन् जहीतही
निर्धालाई कुल्चेर सर्पनाच देखाइरहन्छन।
राज्य चल्छ शकुनीहरुको
कालो छायाले छोपेर औठाका छाप ठोकिन्छन्
जित्नलार्इृ झेल गर्छन् कौरवहरु पासाको दाउमा।
रातमै बनिन्छन् झुक्याएर नयाँ कानुनहरु।
यो दुःख पीडाको आशौच पटक्कै होइन
हजारौ वलि दिएर
त्यसैको रक्तमा मारुनी, सोरोठी गाउने यो रात
दिनमा अदृश्य बन्छ र
नाटक गरिरहन्छ, अन्जान बनेर।
भन्छन् मान्छेहरु
एउटै हो
पानीको फोका र रातले बारेको आशौच
पूर्ण आश्वस्त छु म
आशौच बारेको रात
अब फेरि कहिल्यै हेर्नु पर्ने छैन ।